एमालेले उठाएको उम्मेदवार राष्ट्रपति बन्छ, १३ गतेमात्रै नाम लिन्छु : केपी ओली

पालिका डायरी
७ फाल्गुन २०७९, १३:१२
हुलाकी सडकप्रति एमाले अध्यक्ष ओलीको चासो file photo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले जसलाई उठायो उही राष्ट्रपति बन्ने दाबी गरेका छन्। आइतबार विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले अहिलेको समीकरण जन्मिने बेलामा नै उक्त कुरा तय भएको पनि दाबी गरे।

राष्ट्रपतिबारेको जिज्ञासालाई जवाफ दिँदै ओलीले भने, ‘राष्ट्रपति को हुन्छ भन्ने पहिला नै तय छ। अहिलेको समीकरण जन्मँदै त्यसको जन्मकुण्डलीमै लेखिएर आएको छ।’

उनले यसबारे पहिल्यै सहकार्य भइसकेको पनि बताए। माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको नाम लिँदै सञ्चारकर्मीले ‘सहकार्य’ नभएको भन्दै प्रश्न गरेका थिए।

सञ्चारकर्मीको प्रश्नमा प्रतिप्रश्न गर्दै ओलीले भने, ‘सबैसँग कहाँ सहकार्य हुन्छ त? माओवादी कार्यकर्तासँग कहाँ सहकार्य हुन्छ र?’ एमालेले राष्ट्रपतिको उम्मेदवार बनाउने र त्यसमा नै सहमति हुनुपर्ने ओलीले बताए। ‘हामी उम्मेदवार उठाउँछौं त्यसमा सबैको सहमति हुनुपर्छ। माओवादी केन्द्रले साथ नदिने भन्ने कुरै छैन,’ अध्यक्ष ओलीले भने।

साथै, राष्ट्रपतिमा ओलीलाई अघि सार्नेबारे मिडियामा आएका समाचारबारे पनि ओलीलाई सञ्चारकर्मीले प्रश्न गरेका थिए। उक्त प्रश्नको जवाफमा ओलीले भने, ‘यो एउटा रमाइलो प्रश्नमात्रै हो।’

अहिलेसम्म राष्ट्रपतिको बारेमा आफूले कुनैपनि नाम नलिएको भन्दै १३ गतेमात्रै नाम लिने उनले बताए। ‘हामीले जो उम्मेदवार बनाउँछौं त्यही राष्ट्रपति बन्छ। मैले अहिलेसम्म कसैको नाम लिएको छैन। मैले १३ गते नाम लिन्छु,’ ओलीले भने।

प्रतिक्रिया