आज रातिदेखि पश्चिमी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना, चिसो हावा समेत चल्ने

पालिका डायरी
९ माघ २०७९
४ दिनदेखि हिउँमा फसेका बाबुछोराको उद्धारका लागि हेलिकप्टर

आज रातिदेखि पश्चिमी क्षेत्रमा हिमपात र वर्षाको अनुमान गरिएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा आज राति पानी पर्ने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आज राति हल्का वर्षा मात्रै हुने सम्भावना छ ।

भोलि दिउँसोदेखि भने हिमपात र वर्षाको मात्रा बढ्ने अनुमान छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव गण्डकी प्रदेशसम्म पर्ने अनुमान गरिएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनीसँगै भोलि गण्डकी प्रदेशका थोरै ठाउँमा पनि वर्षा र हिमपात हुने मौसमविद् अधिकारीले बताउनुभयो । यो प्रणालीकै कारण चिसो हावासमेत चल्ने उहाँले बताउनुभयो । हावा चल्ने हुँदा यी प्रदेशमा अबको केही दिन हुस्सु कुहिरो हट्ने छ ।

मौसम विज्ञान विभागले आज रातिदेखि पश्चिम नेपालबाट सुरु भएर बिहीवारसम्म काठमाण्डौ लगायतका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । हिमाली भेगमा भने भोलिपछि एक हप्तासम्म हिमपातको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिनुभयो । यसपालिको हिउँदमा बितेको ३० वर्षयताकै सबैभन्दा कम वर्षा भएको जनाइएको छ ।

विभागको तथ्याङ्कअनुसार सन् १९९१ पछि यो वर्षको हिउँदमा सबैभन्दा कम पानी परेको हो । सन् १९९१ देखि २०२० सम्मको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा औसतमा १२ दशलमव ६ मिलिमिटर पानी परेको थियो । तर यसपालिको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा शून्य दशमलव एक मिलिमिटर मात्रै पानी परेको मौसम विज्ञान विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

आज दिउँसो भने देशका धेरै ठाउँको मौसम सामान्यतया सफा नै रहने अनुमान छ ।

प्रतिक्रिया
himpat