काठमाडौं / सेयर बजार सुस्त हुनेक्रमले बुधबार पनि निरन्तरता पाएको छ । यस दिन नेप्से सूचक १६.६१ अंकले घटेर १९१७.२८ विन्दुमा आएको छ । १ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । लामो समयदेखि १९ सयको रेखामा घुमिरहेको बजारले यसलाई तोडेर २ हजारको लाइनमा जान सकेको छैन । यही १९ सयकै रेखामा फेरि सानातिना करेक्सनहरु आइरहेको छ । पछिल्ला दिनहरुमा धमाधम मर्ज तथा एक्विजिसनमा गएका कम्पनीहरुको पुनः कारोबार खुला भइरहेको छ । यसले बजारमा सप्लाई बढाएको छ ।
बजार घट्नुको एउटा प्रमुख कारण यसलाई पनि मानिएको छ । घट्दो बजारमा लगानीकर्ताको मनोबल थप कमजोर हुनु अर्को गिरावटको कारण हो । चर्को ब्याजदर लगायतका समस्या त छँदैछ । थोरै लगानीकर्तामा यसअघि प्रतिबन्ध लगाइएका वस्तुहरुको आयात खुला गरिएपछि पुनः शोधनान्तरमा चाप पर्ने त होइन भन्ने आंशका पनि देखिएको छ । यसले बजार घटाउन केही हदसम्म सहयोग पुर्याएको अनुमान गरिएको छ ।
तथापि, बजार निकै तल्लो विन्दुमा आइसकेकाले यस तहमा क्रेताहरु पनि उत्तिकै रहेको पाइन्छ । तर पनि पछिल्ला केही दिनयता भने बिक्रेता पक्ष नै बढी हावी भएको देखिन्छ । लाभांश सिजन चलिरहँदा पनि बजारले अपेक्षा अनुसार गति लिन सकेको छैन । यसो हुनुमा बियरिस चक्र जारी रहनुलाई नै प्रमुख कारण मानिएको छ । नेप्से १६ महिनादेखि बियरिस ट्रेन्डमा छ । तर विश्लेषकहरुले अब विस्तारै यसको चक्र परिवर्तन हुँदै बुलिसतिर लाग्न सक्ने आँकलनहरु गरिरहेका छन् ।
लाभांशको सिजन हुनु, बैंकमा निक्षेप थपिंदै जानु अनि बैंकहरुको ब्याजदर घटाउने प्रक्रिया सुरु हुन थाल्नु लगायतले सेयर बजारको सकारात्मक भविष्यको संकेत गर्दछ । तर तत्कालमा भने लामो समयदेखि बजार वियरिस ट्रेन्डमा भएकाले आम लगानीकर्ताको मनोबल सुधार हुन सकेको छैन, यही कारण बजार सुस्त हुनेक्रमले निरन्तरता पाइरहेको हो ।
यता, विश्लेषकहरुका अनुसार भने पछिल्ला दिनहरुमा बजारमा सेयर एकुमुलेसन भइरहेको छ । यो चरणमा बजार सुस्त हुन्छ । ठूला र अनुभवी लगानीकर्ताहरुले भाउ जति सस्तो हुँदै जान्छ, त्यति नै मात्रामा सेयरहरु खरिद गर्न थाल्छन् । यो क्रम कहिलेकाँही लामै समय चल्न पनि सक्छ । अहिले सूचक तल्लो विन्दुमा आइसकेकाले एक्युमुलेसन भइरहेको अनुमान गरिएको हो ।
समग्रमा आगामी दिनहरु सकारात्मक हुने देखिए पनि सेयर बजारको बाटो भने सधैं एकनासको हुँदैन । बजार तलमाथि भइरहन्छ । यसको बाटो सीधा नभएर बाँङोटिंगो हुने गर्छ । यसर्थ, लगानीकर्ताले सोही अनुसार आफ्ना रणनीतिहरु तय गर्न विज्ञहरुले सुझाव दिने गरेका छन् ।
सेयर बजारमा लगानीकर्ताको मनोविज्ञानको पनि अहम भूमिका हुन्छ । यसर्थ, आम लगानीकर्तामा घटेको बजार फेरि बढ्छ भन्ने विश्वास हुन जरुरी छ । रिक्स–रिवार्ड रेसियोलाई समेत ख्याल गर्दै आफ्नो रणनीति तय गर्नुपर्ने जानकारहरु बताउँछन् ।
यस दिन २४६ कम्पनीको ८० लाख ९२ हजार कित्ता सेयर कारोबार भएको छ । कारोबार रकममा ६७ करोड रुपैयाँसहित सानिमा बैंकको संस्थापक सेयर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र नबिल बैंक परेका छन् ।