थापाथलीमा अनधिकृत संरचना निर्माण गर्नेले खुँडा जस्ता धारिलो हतियारले आक्रमण गरेः महानगरपालिका

पालिका डायरी
१२ मंसिर २०७९
थापाथलीमा अनधिकृत संरचना निर्माण गर्नेले खुँडा जस्ता धारिलो हतियारले आक्रमण गरेः महानगरपालिका

काठमाडौं महानगरपालिकाले थापाथलीस्थित वागमती किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाउन खोज्दा आपराधिक मानसिकता बोकेका व्यक्तिहरूले घरेलुहतियारसहित आक्रमण गरेको जनाएको छ ।

सोमबार अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको अनुरोधमा महानगर प्रहरी बलका प्रमुखसहितका नगर प्रहरीको टोली संरचना हटाउन पुग्दा आक्रमण भएको महानगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘सम्बन्धित पक्षसँग समन्वय एवं सूचना सम्प्रेषणको तयारी गर्दै गर्दा सो स्थानमा अनधिकृत संरचना निर्माण गर्ने व्यक्तिहरूले खुँडा जस्ता धारिलो हतियार, ढुंगा, मुढासहितका सामाग्रीसहित उपस्थित भई आपराधिक मनसायले एक्कासी महानगर प्रहरी बलका प्रमुखसहित अठार जना नगर प्रहरीलाई आक्रमण गरी गम्भीर घाइते बनाएका छन्’, महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नगर प्रहरी शर्मिला बोगटीलाई शरीर बन्धकमा लिई गम्भीर रुपमा घाइते बनाएको कारण निजसहित तीन जना नगर प्रहरीको आईसीयुमा उपचार भइरहेको छ । अन्य नगर प्रहरीहरूसमेत उपचारत छन् ।’

महानगरपालिकाले सो घटना घटाउन नेतृत्व गर्ने तथा आपराधिक कार्यमा संलग्न हुने व्यक्तिहरुको नाम समेत खुलाएर कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पत्राचार गरेको छ । ‘अनधिकृत संरचना हटाउने कानून बमोजिमको कार्यमा संलग्न नगर प्रहरीहरुलाई सांघातिक आक्रमण गर्ने व्यक्तिहरुलाई कानून बमोजिम हदैसम्मको कारवाही हुन सम्बद्ध निकाय तथा पदाधिकारीहरुलाई अनुरोध गरिन्छ’, महानगरपालिकाले भनेको छ ।

साथै, अनधिकृत संरचना हटाउने कार्यमा सहयोग, समन्वय र सहकार्य गर्न सरोकारवाला निकाय, व्यक्ति, सञ्चारजगत र सर्वसाधारण समेतमा महानगरपालिकाले आग्रह गरेको छ ।

प्रतिक्रिया
Sukumbasi_Basti_Thapathali5_RLelMVkjG9