ओखलढुंगाका २५ कैदीबन्दीले समानुपातिक भोट हाल्न पाउने

पालिका डायरी
२२ कार्तिक २०७९, १९:००

आगामी मंसिर ४ गते हुने निर्वाचनमा ओखलढुंगा जिल्ला कारागारमा रहेका २५ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन्। निर्वाचन आयोगले जिल्ला कारागारलाई अस्थायी मतदान केन्द्रको रूपमा स्वीकृति दिएपछि उनीहरूले मतदान गर्न पाउने भएका हुन्।

निमित्त कारागार प्रमुख नरेन्द्रलाल कर्णका अनुसार मतदाता नामावलीमा नाम भएका कैदीबन्दीको सूची पठाइएकोमा निर्वाचन कार्यालयबाट २५ जनाको मात्र अस्थायी मतदाताको सूचीमा दर्ता भएर आएकाले उनीहरूलाई मतदान प्रक्रियामा सहभागी गराइने भएको हो। जिल्ला कारागार ओखलढुंगामा अहिले ९१ जना कैदीबन्दी रहेका छन्। जसमध्ये १५ जना कैदी र १० जना बन्दीले भोट हाल्न पाउने भएका छन्।

प्रतिनिधिसभा समानुपातिकतर्फ मात्र उनीहरूले मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाका प्रमुख प्रेमप्रसाद न्यौपानेले बताए। प्रदेश सभाको समानुपातिकतर्फ भने कैदीबन्दीले भोट हाल्न नपाउने उनको भनाइ छ।

निर्वाचनमा खटिएका कर्मचारीले समेत आफू खटिएको मतदान केन्द्रबाट भोट दिन पाउने भएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा अस्थायी मतदान केन्द्रको रूपमा जिल्ला कारागार र खाद्य संस्थान ओखलढुंगामा अस्थायी मतदाताका लागि मतदान केन्द्रको व्यवस्था गरिएको छ।

जिल्लाका विभिन्न कार्यालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मीले संघीय संसद्का लागि समानुपातिक निर्वाचन प्रणालीमा मतदान गर्न पाउनेछन्। आगामी मंसिर ४ गते जिल्लामा एक लाख १७ हजार आठ सय ९७ जना मतदाताले मतदान गर्नेछन्। जसमा पुरुष ५९ हजार ८ सय १५ र महिला ५८ हजार ८१ मतदाता छन्।

प्रतिक्रिया
jail2019-05-31