अझै मासिक ६१ करोड घाटामा छौँ : आयल निगम

पालिका डायरी
१७ भाद्र २०७९, १२:०८
अझै मासिक ६१ करोड घाटामा छौँ : आयल निगम

काठमाण्डाै / नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट खरिद मूल्य बढेर आएको भन्दै गएरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।

निगम सञ्चालक समितिको बैठकले हिजो डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ६ रुपैयाँले बढाएको हो । मूल्य बढेसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ । यसअघि डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ थियो । पेट्रोल, हवाइ इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । पेट्रोल अहिले लिटरको १८१ रुपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फ १९० रुपैयाँ, हवाइ इन्धन बाह्यतर्फको एक दशमलव ६४ अमेरिकी डलर र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार ८ सय रुपैयाँ छ ।

निगमका अनुसार एलपी ग्यासमा अझै प्रतिसिलिण्डर ३ सय ७८ रुपैयाँ सात पैसा तथा डिजेलमा प्रतिलिटर ११ रुपैयाँ १८ पैसा घाटा छ । निगमलाई पेट्रोलमा दुई रुपैयाँ ८२ पैसा नाफा छ । मूल्य समायोजनपछि पनि एक महिनामा ६१ करोड रुपैयाँ घाटा हुने निगमको प्रक्षेपण छ । पेट्रोलियम पदार्थ खरिद बापतको रकम समयमा नै भुक्तानी गर्न नसक्दा बक्यौता रकम बढ्दै छ । लामो समयदेखि पेट्रोलियम पदार्थमा भइरहेको नोक्सानीका कारण दैनिक बिक्रीबाट सङ्कलन हुने रकम आईओसीलाई भुक्तानी गर्दा पनि अस्ति बुधबारसम्म झण्डै २१ अर्ब तिर्न बाँकी रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो ।

आईओसीको बक्यौता रकम भुक्तानी गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गर्नुपर्ने विषय निगमको लागि चुनौतिपूर्ण रहेको उहाँको भनाइ छ । सञ्चित वचत सकिएपछि पेट्रोलियम पदार्थ खरिद गर्ने पैसा नहुँदा सरकारले गएको असार अन्तिममा निगमलाई सात अर्ब रुपैयाँ ऋण उपलब्ध गराएको थियो । पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन निगमले राष्ट्रिय वाणिज्य बैंकबाट समेत तीन अर्ब रुपैयाँ ऋण लिएको थियो ।

प्रतिक्रिया