वामदेवको आत्मालोचना : नेकपा फुट्नुमा मेरो पनि गल्ती छ, यही गठबन्धन कायम रहे पाँच वर्ष कांग्रेसको सरकार

पालिका डायरी
११ असार २०७९, १०:४७
वामदेवको आत्मालोचना : नेकपा फुट्नुमा मेरो पनि गल्ती छ, यही गठबन्धन कायम रहे पाँच वर्ष कांग्रेसको सरकार

काठमाडौं / नेकपा फुटपछि अलग रहेर एकता अभियानमा लागेका नेता वामदेव गौतमले आफ्नो पनि गल्ती भएको बताएका छन्। ललितपुरको धोबिघाटमा जारी नेकपा एकता राष्ट्रिय अभियानको बैठकमा गौतमले पार्टी फुटमा आफ्नो गल्ती रहेको भन्दै आत्मालोचना गरेका हुन्।

‘पार्टी फुट्नुमा मेरो पनि गल्ती छ। म एकपट्टी लाग्नुहुन्नथ्यो,’ गौतमले भने। नेकपा फुटेपछि अहिले एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी बनेको छ।

गौतमले तीन पार्टी एकता हुनुपर्ने भन्दै यो अभियान चलाएका हुन्। गौतमले पार्टी फुट्नुमा त्यतिबेलाको सचिवालय सदस्यहरुको पनि दोष रहेको बताए।

आफूले ओली सरकार जोगाउन दुईपटक अविश्वासको प्रस्ताव असफल गराएकोसमेत दाबी उनले गरे। भने, ‘म प्रचण्डतिर लागेको थिए। पार्टी फुट्ने थाह पाएर दुई पटक अविश्वासको प्रस्ताव असफल गराएँ। तेस्रोपटकको थाह पाइनँ।’

गौतमले स्थानीय निर्वाचनमा कांग्रेस पहिलो शक्तिको रुपमा उदाएकोले अब तीन पार्टी एक हुनुपर्ने बताए। नेपाली कांग्रेस प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि बलियो हुनेसमेत उनले बताए। ‘प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धन भए कांग्रेस बलियो हुन्छ। त्यसपछि पाँच वर्ष कांग्रेसले सरकार चलाउँछ। अनि त्यसपछि कांग्रेसलाई गठबन्धन आवश्यकता हुँदैन,’ गौतमले भने, ‘अनि कम्युनिस्ट ओरालो लाग्छ। भारतीय कम्युनिस्ट आन्दोलनको हालत हुन्छ।’

गौतमले पार्टी एकता अभियानका लागि प्रतिवेदनसमेत तयार पारेका छन्। गौतमले कांग्रेस कम्युनिस्टको मित्र भए पनि कांग्रेसले नेतृत्व जारी राखे एमसीसीजस्ता आयोजना आइरहने बताए। एसपीपी गठबन्धनमा कम्युनिस्ट रहेकै कारण रोकेको उल्लेख गर्दै उनले कम्युनिस्ट एकतामा जोड दिए।

प्रतिक्रिया