पश्चिमा राष्ट्रले रुसलाई प्रतिबन्ध लगाउँदा भारतलाई फाइदा, किन्दैछ सस्तो मूल्यमा तेल

पालिका डायरी
१५ चैत्र २०७८, १३:४६
पश्चिमा राष्ट्रले रुसलाई प्रतिबन्ध लगाउँदा भारतलाई फाइदा, किन्दैछ सस्तो मूल्यमा तेल

काठमाडौं / रुसले युक्रेनमा आक्रमण गरेको एक महिना पुरा भएर दोस्रो महिनामा प्रवेश गरेको छ।

द्वन्द्व जारी रहँदा युक्रेनको समर्थनमा रहेका अधिकाँश पश्चिमा राष्ट्रहरुले रुसमाथि आर्थिक प्रतिबन्धहरुको घोषणा गरेका छन्।

यस्तो अवस्थामा रुसले आफ्नो तेल र ग्यास बेच्न पाइरहेको छैन। उता भारतलाई भने पश्चिमा प्रतिबन्धले फाइदा भएको छ।

भारतले रुसी आक्रमणको निन्दा गरेको छैन। भारतले रुसबाट सस्तो मूल्यमा तेल आयात गर्ने अवसर पाएको छ।

भारतीय अधिकारीहरुका अनुसार यतिबेला रुस र भारतबीच तेल भारतमा आयात गर्ने विषयमा छलफल चलिरहेको छ। रुसले क्रिप्टोकरेन्सी लगायत जस्तोसुकै मुद्रा पनि स्वीकार गर्ने संकेत दिइरहेको छ।

यसरी भारतलाई फाइदा पुग्छ भने रुसलाई पनि प्रतिबन्धले असर गरेको अर्थतन्त्रलाई लयमा ल्याउन मद्दत पुग्नेछ।

अमेरिकाले भारत लक्षित टिप्पणी गर्दै भनेको छ,‘भारतले तेल निर्यात गर्दैमा त्यो प्रतिबन्धको उल्लंघन हुनेछैन तर त्यो रुसको समर्थन भने हुनेछ। अर्थात् त्यो आक्रमणको समर्थन हुनेछ।’

अमेरिका र चीनपछि भारत विश्वमै अत्यधिक तेल आयात गर्ने मूलुक हो। भारतले ८० प्रतिशत तेल आयात गर्ने गर्दछ। गतवर्ष भारतले रुसबाट १ करोड २० लाख ब्यारेल तेल आयात गरेको थियो। त्यो भनेको भारतको आयातदरमध्ये २ प्रतिशत हो।

यतिबेला विश्वभर युद्धका कारण तेलको भाउ बढेको छ। भारतले सस्तो दरमा रुसबाट तेल आयात गर्दा त्यहाँ तेलको भाउ फेरि लयमा फर्किनेछ। बीबीसी

प्रतिक्रिया