जीवनमै पहिलोपटक पानीको धारो देखेकी सानुमाया

पालिका डायरी
१२ चैत्र २०७८

हेटौंडा / मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्बर ८ महांकल गाउँकीसानुमाया तितुङ अहिले ७३ बर्षकी भइन् । उनको जीवनको ६७ बर्ष गाग्रोमा पानी बोकेर नै बित्यो । हरेक दिन परिवारको सदस्य २÷३ जनाको काम पानी खेप्ने नै थियो ।
सोही गाउँकी तितुङको ७ बर्षकै उमेर बिवाह भयो । सानैदेखि पानी बोकीरहेकी उनलाई बुढेसकाल लागेपनि पानीको पीरले छोड्न सकेको थिएन । घर भन्दा टाढाको वैद्येखोला नामको सानो खोलाबाट पानी खेपेर नै सानुमायाको हात गोडा चरचर फुटेका छन् । आधी ज्यान पानी कै गाग्रोले खायो । दिनमै ३÷४ पल्ट त पानी लिन त्यही तलको वैद्येखेला जान पर्नी, सानुमायाले भनिन् ।

सोही गाउँकी अनिता तितुङको माइती चितवन हो । विगत १६ बर्ष अघि बिवाह गरेर महांकल आएकी अनिता आफ्नो दैनिकी रित्तो भाडा बोकेर खोला जाँदैमा बितेको अनुभव सुनाउँछिन् । ‘१६ बर्ष भयो पानी बोकेर नै केही काम भ्याइँदैन ।’ ‘उनले भनिन् ः यो गाउँमा त कसैले छोरी नै नदिने समस्या पनि छ । यदी बिहे गरिहाल्यो भने पनि केही बर्षमै छोडेर जाने दिदिबहिनीहरु प्नि धेरै छन् । एक गाग्रो पानी लिन कम्तीमा पनि ३÷४ घण्टा लाग्थ्यो । अब भने स्वर्गमा पुगे जस्तै भाको छ हाम्लाई त ।’

बर्षौ देखि पानीको समस्या झेल्दै आएका राक्सिराङका बासिन्दाहरुलाई अहिले गाउँमै स्वर्ग आएजस्तो भएको छ । ७३ बर्षिय सानुमायाको चाउरिएको मुहारमा पनि चमक छाएको छ । कारण अहिले पानीको धारो आँगनममै बनेको छ । बिहान देखि बेलुकासम्म धारोमा कलकल पानी आएपछि सानुमाया र अनिता मात्रै होइन महांकल गाउँका दर्जनौं मानिसहरु खुसी भएका छन् । अझै त्यसमा पनि महिलाहरु निकै खुसी देखिन्छन् । किनकी दिनहुँ धेरै गाग्री पानी बोक्ने काम महिलाकै जिम्मेवारी जस्तै बनिरहेको थियो ।

पानी आएपछि खुसी
स्थानीयले वर्षौदेखि खानेपानीको विकराल समस्या भोगिरहेका बेला गाउँमा २ वर्षअघि जनप्रतिनिधिको टोली नै पुग्यो । नवनिर्मित विद्यालय भवन उद्घाटन गर्न गएका जनप्रतिनिधिलाई स्थानीयले आफ्ना समस्या मात्रै देखाएनन्, समस्या समाधान गर्न रचनात्मक दबाब पनि दिए । जनप्रतिनिधि र नेताको टोलीलाई उकालोमा पानीको गाग्री नै बोकाइदिए ।
आफैंले उकालोमा डोकोमा पानीको गाग्री बोकेर स्थानीयको पीडा महसुस गरेका जनप्रतिनिधि र नेताहरुले गाउँमा जसरी पनि खानेपानीको व्यवस्था गर्ने प्रतिवद्धता गरेर फर्किए । अहिले गाउँमा खुसीयाली छाएको छ । राक्सिराङ गाउँपालिकाले तत्कालै १६ लाख रुपैयाँ बजेट विनियोजन गरी गाउँमा खानेपानीको व्यवस्था गरिएको हो । सोलार पम्पिङमार्फत बन्जीडाँडा खोलाबाट डाँडामा पानी तानेर स्थानीयलाई वितरण गरिएको छ । १५ घरधुरी रहेका महांकालमा ४ वटा धारामार्फत खानेपानी वितरण गरिएको छ । अहिले घरघरमै पानी आएपछि स्थानीय दंग छन् ।

स्थानीयबासीसमेत रहेका वडा सदस्य जयबहादुर तितुङले खानेपानीको समस्या समाधान भएसँगै स्थानीयको जीवनस्तर नै फेरिएको बताए । ‘हरेक दिन २ खेप पानी बोक्दासम्म आधा दिन भइसक्थ्यो । अरु काम गर्ने फुर्सदै हुँदैनथ्यो । अहिले घर नजिकै धारा झर्दा बारीमा तरकारी रोप्नेदेखि अरु काम गर्न पाएका छौं ।’ तितुङले भने । गाउँपालिकाले १६ लाख रुपैयाँ विनियोजन गरेकामा उपभोक्ताको समेत श्रमदानबाट खानेपानी आयोजनाको लागत करिब ३० लाख पुगेको उनले बताए ।

राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले आफूहरु जनप्रतिनिधि भएर आएपछि गाउँका हरेक टोलमा महसुस हुने गरी विकास गरिएको उनले दावी गर्दै १५ घरको लागि अहिले सामुहिक प्रयोगको लागि ४ वटा धारामार्फत पानी वितरण गरिएकोमा अब घरघरमै धारा जडान गर्नको लागि बजेटको व्यवस्था गरिने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया
276086662_317464520482994_8727121519505785068_n_QtCjStJkR2