मृत्युपछि शरीर दान गर्ने बागमती प्रदेश प्रमुख शर्मा दम्पतीको घोषणा

पालिका डायरी
२८ फाल्गुन २०७८, १५:२५
नारी दिवसमा बागमती प्रदेश प्रमुख शर्माले दिए शुभकामना सन्देश

हेटाैंडा /  बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा दम्पतीले मृत्युपछि शरीर दान गर्ने घोषणा गरेका छन् ।

प्रमुख शर्मा र उनकी श्रीमती उर्मिला शर्मा चौलागाईंले मृत्यु पछि शरीर दान गर्ने मन्जुरीपत्रमा हस्ताक्षर गरेका हुन् । ललितपुरको ग्वार्को बसोबास गर्दै आएका ६६ वर्षिय शर्मा दम्पतीले ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजलाई मृत्युपछि आफ्नो शरीर दान गर्ने निर्णय गरेका हुन् ।

चिकित्सा विज्ञान अध्ययन गर्ने विद्यार्थीको पढाईका लागि उपयोगी होस् भनेर आफूहरुले मृत्युपछि शरीर दान गर्ने निर्णय गरेको प्रदेश प्रमुख शर्माले बताए । विगत ८ वर्षदेखि आफ्नो मुटुमा पेसमेकर राखिएकाले सो बारेमा विद्यार्थीहरुलाई अध्ययनका लागि उपयोगी होस् भन्ने अपेक्षाले मृत्युपछि शरीर दान गर्ने निर्णय लिइएको प्रमुख शर्माको भनाई छ ।

मृत्युपछिको शरीर दान गर्नका लागि आवश्यक प्रकृया केही समयअघि देखि थालेपनि हिजो शुक्रबार आवश्यक कानूनी प्रकृया पूरा भएको प्रमुख शर्माले बताए । मृत्युपछि दान गरिएका शव चिकित्सा विज्ञानमा परीक्षणका लागि उपयोगी हुने भएकाले इच्छुक व्यक्तिले शरीर दान गर्नसक्ने किस्ट मेडिकल कलेज प्रशासन शाखाकी सरिता हाडाले जानकारी दिइन् ।

चिकित्सा विज्ञान पढ्ने विद्यार्थीको प्रयोगात्मक पढाईका लागि वेवारिसे शवमा भर पर्नु पर्ने अवस्थामा मृत्युपछि शरीर दान गर्न इच्छा राख्नेबाट विद्यार्थीलाई अध्ययनका लागि सहजता हुने मेडिकल कलेजका प्राध्यापकहरुको भनाई छ ।

नेपालमा मृत्युपछि शरीर दान गर्ने प्रावधान २०७५ साल भदौ १ गतेबाट सुभारम्भ भएपछि अहिले विभिन्न क्षेत्रका व्यक्तित्वले मृत्युपछि शरीर दान गर्न इच्छा राखेको आफूहरुकोमा निवेदन दिएको हाडाले बताइन् ।

प्रतिक्रिया