भोलीबाट हेटौंडामा आँचलको आयोजनामा बृहत साहित्य महोत्सव

पालिका डायरी
१९ फाल्गुन २०७८, १५:१५
भोलीबाट हेटौंडामा आँचलको आयोजनामा बृहत साहित्य महोत्सव

 

हेटौंडा  मकवानपुरे महिला साहित्यकारको एकमात्र संस्था आँचल साहित्य कला पुञ्जले यही फागुन २० र २१ गते हेटौंडामा बृहत साहित्य महोत्सव आयोजना गर्दै छ । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा आँचलले मकवानपुरमा पहिलो पटक देशभरका साहित्यकारलाई जम्मा गरेर बृहत साहित्यक महोत्सवको आयोजना गरेको हो ।

साहित्यका विभिन्न विषय र साहित्य र समाजसँग जोडिएका विषयवस्तु माथि बहस, अन्र्तक्रियासहित नेपाली भाषा साहित्यको उत्थान र विकासका लागि महोत्सवको आयोजना गरिएको आँचलका अध्यक्ष अनिता न्यौपानेले जानकारी दिइन् । उनका अनुसार महोत्सवले मकवानपुरको भाषा, साहित्य, कला, संस्कृति, प्रकृति, पर्यटन, इतिहास, सम्पदा, दर्शन, उद्योग व्यापार र समग्र सामाजिक विकासमा टेवा पुग्ने छ । महोत्सवले समग्र साहित्य, कला, संस्कृति, पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिने उनले बताइन् ।

महोत्सवले भाषा साहित्यको विकास र संरक्षण गर्दै फरकफरक परिवेश, समूह, भाषा, संस्कृति तथा रहनसहनमा रहेका साहित्यकार बीच साहित्य आदानप्रदान हुने अध्यक्ष न्यौपानले उल्लेख गरिन् । सााहित्य, भाषा, तथा कलाको अहिलेको अवस्थाका बारेमा बहस हुने भएकाले साहित्यलाई अझ परिस्कृत र बलियो बनाउँदै लैजाने अपेक्षा महोत्सवबाट लिइएको उनको भनाई छ ।

दुईदिनसम्म सञ्चालन हुने महोत्सवमा देशका विभिन्न स्थानबाट ६० जना भन्दा बढी साहित्यकार आउने जनाइएको छ । मकवानपुरका साहित्यकारसहित करिब दुई जनाको सभागिता रहने महोत्सवमा साहित्यका विभिन्न क्षेत्रमा बहस हुने आँचलकी सचिव भावना सापकोटाले जानकारी दिइन् । उनका अनुसार महोत्सव फागुन २० गते शुक्रबार उद्घाटन हुनेछ । महोत्सवमा ‘साहित्यमा राजनीति’ विषयमाथि बहस हुने छ । त्यस्तै महोत्सवमा कविता, गीत, गजल, मुक्तक वाचन कार्यक्रम रहेको सापकोटाले बताईन् ।

यस्तै महोत्सवमा ‘समकालिन कविताको मार्ग चित्र’, ‘मकवानपुरको साहित्यिक महक’ विषयमाथि बहसको कार्यक्रम पनि रहेको सचिव सापकोटाले जानकारी दिइन् । हेटौंडाको रोयल पार्टी प्यालेसमा हुने महोत्सव अन्र्तगत ‘मकवानपुरको साहित्यिक महक’ विषयको बहस भने पर्यटकीय स्थल गुम्बाडाँडामा हुने छ । यस्तै महोत्सवमा ‘भाषिक दृश्टिले साहित्यमा नारी’ विषयमा कार्यपत्र प्रस्तुत हुने र त्यस माथि बहस हुने जनाइएको छ । यस बाहेक महोत्सवमा साङ्गीतिक कार्यक्रम, पुस्तक प्रर्दशनी, कला प्रर्दशनी समेत हुने छ ।

महोत्सवमा ‘साहित्यमा राजनीति’ विषयको बहसका लागि भुपाल राई, धनकुमारी सुनार र घनश्याम घिमिरे वक्ता रहेका छन् भने यसको सहजकर्ता ठाकुर वेलबासे रहेका छन् । ‘मकवानपुरको साहित्यिक महक’ विषयको बहसमा तारालाल श्रेष्ठ, विना थिङ र सञ्जय साह बहसकर्ता र सुवास खनाल सहजकर्ता रहेका छन् । यस्तै ‘समकालिन कविताको मार्ग चित्र’ विषय माथि बहस गर्न भूषिता वशिष्ठ, नेत्र एटम र चन्द्र गुरुङ वक्ता रहेका छनभने यसको सहजकर्ता निमेष निखिल रहेका छन् । यसैगरी ‘भाषिक दृश्टिले साहित्यमा नारी’ विषयमा कार्यक्रम कार्यपत्र ज्ञानु अधिकारीले प्रस्तुत गर्नेछिन् । कार्यपत्र माथि प्रणेता र राम अविकासले टिप्पणी गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया