दक्षिण अफ्रिकाबाट उडेकाे विमानकाे पाङ्ग्रामा लुकेका व्यक्ति नेदरल्यान्ड्समा जीवितै भेटिए

पालिका डायरी
१० माघ २०७८
दक्षिण अफ्रिकाबाट उडेकाे विमानकाे पाङ्ग्रामा लुकेका व्यक्ति नेदरल्यान्ड्समा जीवितै भेटिए

दक्षिण अफ्रिकाबाट एम्स्टर्डमको सिफोल विमानस्थलमा अवतरण गरेको एक विमानको पाङ्ग्राको खण्डमा एक व्यक्ति जीवितै भेटिएका नेदरल्यान्ड्सकाे प्रहरीले बताएकाे छ ।

जोहानेसबर्गबाट एम्स्टर्डमसम्मको उडान झन्डै ११ घण्टा लामो हुन्छ, यो कार्गाे (सामान बाेक्ने) विमान केन्याको नैरोबीमा एक पटक रोकिएको मानिएको बीबीसीले जनाएको छ ।

उच्च उचाइमा चिसो र कम अक्सिजनका कारण लामो उडानमा स्टोवावे अर्थात् पाङ्ग्राको खण्डमा लुकेर यात्रा गर्नेहरू बाँच्नका लागि यो असामान्य भएको बताइएको छ ।

ती व्यक्तिको उमेर र राष्ट्रियता भने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । ‘एक व्यक्ति विमानको नोज ह्वील सेक्शनमा जीवितै भेटिएका थिए र उनलाई सामान्य अवस्थामै अस्पताल पुर्याइयो’, रोयल डच मिलिटरी प्रहरीका प्रवक्ता जोआना हेलमन्ड्सले समाचार एजेन्सी एफीएफसँग भन्नुभयो । ती मानिस अझै जीवित हुनु असाधारण भएको उहाँले बताउनुभयो ।

डच प्रसारक एनओएसका अनुसार ती व्यक्तिको शरीरको तापक्रम घटनास्थलमा बढेको पाइएको र उनले साधारण प्रश्नको जवाफ दिएका थिए ।

ती व्यक्ति दक्षिण अफ्रिका वा केन्याबाटा विमानमा चढेका थिए भन्नेबारेमा केही जानकारी नभएको नेदरल्यान्ड्सको उडान तथ्याङ्कले जनाएको छ ।

प्रतिक्रिया