लागुऔषध गाँजासहित तीन जना पक्राउ

पालिका डायरी
२८ पुष २०७८, १९:२४

हेटाैंडा। लागूऔषध गाँजा र चरेशसहित तीन जनालाई प्रहरीले पक्राउ गरेका छन् ।

प्रहरीले मनहरी गाउँपालिका–८ सिमपानीबाट बुधबार बिहान २० किलो ५ सय ग्राम चरेश र १० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको संयुक्त प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता नायव उपरिक्षक प्रहरी जयश्वर रिमालले बताए ।

पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–६ निवासी ३३ वर्षीय सन्तबहादुर थिङ रहेका छन् भने सोही स्थान निवासी २७ वर्षीय ललित बहादुर थिङ र चितवन राप्ती नगरपालिका वडा नम्बर ११ भण्डरा बस्ने २८ वर्षीय राम बहादुर तामाङ रहेको उनले बताए । चिवतनबाट हेटौंडातर्फ जाँदै गरेको लु ३ च ९७४ नम्बरको पिकअप गाडीलाई रोकेर चेकजाँच गर्दा सो परिणामको लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गरेको उनले बताए ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरी प्रवक्ता रिमालले बताएका छन् ।

प्रतिक्रिया