अनेरास्ववियु बागमती प्रदेशको दोस्रो पूर्ण बैठक भोलिबाट हेटौंडामा,यि नेताहरु आउँदै

पालिका डायरी
१३ पुष २०७८, १८:००

हेटौंडा । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को दोस्रो पूर्ण बैठक भोलि मंसिर १४ गतेबाट प्रदेश राजधानी हेटौंडामा हुने भएको छ ।

आज हेटौंडा स्थि न्युज क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियु बागमती कमिटीका अध्यक्ष सन्तोष राना क्षेत्रीले भोलि मंसिर १४ गते र १५ गते हुने कार्यक्रममा प्रदेश कमिटीको शपथ ग्रहण,प्रदेश कार्यलय उद्घाटन र दुई दिवसीय आवसीय प्रशिक्षण कार्यक्रममा १० जिल्लाबाट ६५ जना प्रदेश सदस्यहरु सहभागिता रहने बताए । उनले दुई दिने प्रशिक्षण कार्यक्रमको तयारी पुरा भएको बताउँदै वैचारिक स्पस्ष्टताको लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताए । उनले प्रदेश बैठकमा बागमती प्रदेश भित्रको शैक्षिक,राजनैतिक र जनजीविकासंग जोडिएको विषयवस्तुमा छलफल हुने समेत बताए ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष रानाले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डले भागबन्डाको नाममा मन्त्रालयहरु फुटाएर जनतामाथि व्ययभार थप्ने मात्र काम गरेको टिप्पणी गरे ।

उनले भने,‘समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा विरोधी पाँचदलीय अपवित्र गठबन्धनबाट बनेको राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको प्रदेश सरकारले राज्यमाथि अर्बो रुपैयाँको व्ययभार थपिने गरी मन्त्रालयको विभाजन र भागबण्डा संघीयता मूलमन्त्र विपरित छ ।’ उनले प्रदेश सरकारलको मन्त्रालय भागबन्डाले प्रदेशमा लुटतन्त्र,अराजकता र भष्ट्रचारलाई बढुवा दिएको बताए । उनले मुलुकलाई प्रतिगमन र प्रतिक्रान्ति दिशातर्फ उन्मुख गराउने प्रदेश सरकारको हर्कत प्रति प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले प्रदेश सरकारको उक्त कुकामको दिन्दा एवं भर्त्सना गरेको बताउँदै भोलि बस्ने बैठकले प्रदेश सरकार विरुद्धमा विरोधको कार्यक्रम अघि बढाउने तयारी रहेको समेत स्पष्ट पारे ।

उनले प्रदेशमा शिक्षाको गुणस्तर निरन्तर खस्किदै गरेको बताउँदै अनेरास्ववियु बागमती कमिटीले विद्यालयको गुणस्तर सुर्धान,विद्यार्थी,अभिभावक र सम्बन्धीत निकायको आकर्षण र चासो बढाउन हरेक जिल्लाको एकएक वटा सामुदायिक विद्यालय छनोट गर्दै एक जिल्लाः एक नमुना सामुदायिक विद्यालय निर्माण अभियान संचालन गर्ने तयारी रहेको र उक्त अभियान आउँदो पुस २९ गते सिन्धुली जिल्लाको सिन्धुलीमाडीबाट सुरु हुने बताए ।

यसैगरि,पत्रकार सम्मेलनमा बोल्दै अनेरास्ववियु स्थायी कमिटी सदस्य एवं अनेरास्ववियु बागमती प्रदेश कमिटी सह–ईन्र्चाज सन्तोष पौडेले राज्यले अर्बो लगानी गरेको सामुदायिक विद्यालयहरु नजिकै निजि लगानीका बोर्डिङहरुले अंग्रेजी शिक्षाको नाममा चर्को शुल्क अशुल्ने काम गरिरहेको बताए । उनले सामुदायिक विद्यालयको माध्यमिक शिक्षा तह सम्ममा सबैको निशुल्क पहुँच हुने भनिएता पनि निजि विद्यालयहरुको कारण धनिहरु निजि विद्यालय बोर्डिङ र पैसा नहुनेहरु सामुदायिक विद्यालयमा जानुपर्ने अवस्था रहेको बताए ।

उनले शिक्षामा सबैको समान पहुँच नभएको बताउँदै अनेरास्ववियुले शिक्षाको अवस्थाको अध्ययन,अुसन्धान गर्दै समान शिक्षाको लागि रचनाआत्मक आन्दोलनको कार्यक्रमहरु गर्ने बताए । उनले यसको लागि प्रदेशको सबै जिल्लाहरुमा अध्ययन,अनुसन्धान र तथ्याङ्क विवरणको संकलनको कामहरु भईरहेको बताए ।

यसैगरि, पौडेलले प्रदेश सरकारले भागबन्डाको नाममा मन्त्रालयहरु फुटाएर संघीयताको मूलमन्त्रमाथि कुठराघात गरेको बताए । उनले प्रदेश सरकारले जनताविरोधी र भ्रष्टचारलाई बढुवा दिने काम गरेको भन्दै भोलिबाट सुरु हुने अनेरास्ववियुको प्रदेश बैठकमा गम्भीर छलफल हुने र आन्दोलनको कार्यक्रमहरु सार्वजनिक गरेर अघि बढ्ने बताए ।

अनेरास्ववियुको प्रदेश बैठक र प्रशिक्षण कार्यक्रममा अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुनिता बराल,एमाले केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डे,एमाले केन्द्रीय सदस्यहरु ईश्वरी रिजाल,माधव ढुंगेल,रचना खड्का लगाएत नेताहरु सहभागिता रहने बताईएको छ ।

पत्रकार सम्मेलनमा अनेरास्ववियु केन्द्रीय सदस्य आषिष अस्लामी मगर,नितेस लामिछाने, अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेल, अनेरास्ववियु मकानपुरका उपाध्यक्ष भुवन मैनाली,सचिव पुष्कर तिमल्सिना,सहसचिव प्रमोद फुँयाल,दिनेश हुँमगाई लगाएत अनेरास्ववियु मकवानपुरका पदाधिकारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया