एमसीसी खारेज भएमा, गुमेका भू-भाग फिर्ता भएमा माओवादी केन्द्रसँग एकता हुन्छ : सिपी गजुरेल
काठमाडौं/ नेकपा (माओवादी क्रान्तिकारी)का नेता सिपी गजुरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व गरेको नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्न सम्भव रहेको बताएका छन् ।
आइतबार पार्टीको ८ औँ महाधिवेशनलाई सम्बोधनका क्रममा आफू मञ्चमा बस्दा पहिलेजसरी सँगै बसेको अनुभूति भइरहेको बताउँदै पार्टी एकता सम्भव रहे पनि आधार स्पष्ट हुनुपर्ने बताए ।
उनले १० वर्षे जनयुद्धको लक्ष्य प्राप्ति नभएको, एमसीसी सम्झौता खारेज हुनुपर्ने, नेपालले गुमाएका भुभागहरु फिर्तालगायतका माग राख्दै ती माग पूरा भएमा पार्टी एकता सम्भव रहेको बताए ।
उनले भने, ‘सँगै बसेको जस्तो पनि भइरहेको छ । पूराना दिनहरु सम्झना भइरहेको छ । पूराना माओवादीहरु एक हुनुपर्छ भन्ने कुरा पनि सम्झिरहेको छु । नेपालका कम्युनिष्ट क्रान्तिकारीहरु एक हुनुपर्छ भनेर राख्न चाहन्छु । तर, केही सुझाव पनि राख्न चाहन्छु । यसका लागि एकजुट हुने आधार पनि तयार गर्यो । जुन लक्ष्य राखेर जनयुद्ध सुरु गर्यो त्यो लक्ष्य अझैँ अपूरो छ र नेपाललाई गणतन्त्र गर्न अघि बढे त्यो स्विकार गर्न तयार छु । ’
यसअघि उनले अझैँ पार्टी एकता सम्भव रहेको बताएका छन् । उनले भने, ‘राष्ट्रघाती एमसीसी खारेज गर्न जोड गर्नुस् भन्न चाहन्छु । नेपालले गुमाएका भुभागहरु फिर्ता होस् भन्ने प्रतिबद्धता जाहेर गर्नुहुन्छ भन्न चाहन्छु । यसो भएमा पार्टी एकताको ढोका खुला हुनेछ भन्न चाहन्छु ।’