प्रचण्डको निर्देशनसँगै माओवादी बागमती प्रदेशको बैठक आह्वान, को बन्ला अध्यक्ष ?

पालिका डायरी
५ पुष २०७८, ११:३१

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमार्फत नेतृत्व चयन गर्न निर्देशन दिएसँगै बागमती प्रदेश कमिटीको नेतृत्व निर्वाचनमार्फत चयन गर्नका लागि बैठक बोलाइएको छ ।

नेकपा माओवादी केन्द्र बागमती प्रदेश निर्वाचन कमिटीका सदस्य डीबी तामाङले बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा सोमबार मध्यान्हका लागि बोलाइएको रातोपाटीलाई बताए । ‘प्रक्रियागत हिसाबले हामी सम्मेलनबाट निर्वाचित कार्यसमितिको बैठक बस्छ । बैठकले चुनावी प्रक्रिया अघि बढाउने भनेपछि हामीले प्रक्रिया अघि बढाउँछौँ’, उनले भने।

उनका अनुसार नेतृत्व चयनका लागि पूरै प्रतिनिधिबाट भोटिङ हुने नभइ निर्वाचित कार्यसमितिका सदस्यहरुबीचबाट भोटिङ हुनेछ । ‘प्रतिनिधिबाट भोटिङ हुने होइन, कार्यसमितिबाट भोटिङ हुने हो’, उनले भने, ‘त्यसो हुँदा टोटल २७५ जनाको नामावली नै मतदाता हुन्छ । त्यसैपछि निर्वाचनको प्रक्रिया सुरु हुन्छ ।’
कार्यसमिति यसअघि नै प्रतिनिधिबाट चयन भइसकेकाले अध्यक्षसहितको ९ जनाको पदाधिकारी निर्वाचनमार्फत चुनिने उनको भनाइ छ ।

उनका अनुसार निर्वाचनबाट अध्यक्षसहित तीन जना उपाध्यक्ष, एक सचिव, ३ सहसचिव र कोषाध्यक्ष निर्वाचित हुनेछन् । सहमतिको माध्यममार्फत नेतृत्व चयन हुन नसकेपछि चुनावी प्रक्रियाबाट नेतृत्व चयन गर्न लागिएको हो । जसका लागि प्रचण्डले मातहतका कमिटीलाई निर्देशन दिइसकेका छन् ।

गत मंसिर २५ मा माओवादी केन्द्र बागमती प्रदेशको अधिवेशन काठमाडौंमा भएको थियो । त्यतिबेला नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि २७५ जनाको कार्यसमिति मात्रै चयन गरिएको थियो । अध्यक्षको दौडमा काभ्रेका दीनानाथ गौतम, सिन्धुपाल्चोकका सरल सहयात्री, नुवाकोटका हिरानाथ खतिवडा, डीपी ढकाललगायत रहेका छन् । उनीहरुमध्ये गौतम र सहयात्री बलिया प्रतिस्पर्धी रहेको बताइएको छ ।
यसअघि दोलखाका विशाल खड्का पनि अध्यक्षको दौडमा रहेकामा उनी बागमती प्रदेशको मन्त्री बनेपछि उनी सो दौडबाट बाहिर रहेको बताइएको छ ।

प्रतिक्रिया