८ बजे मतदान सुरु हुने भनिएकोमा करिब साढे ९ मा मतपत्र आइपुग्यो, अध्यक्षका प्रत्यासी कोइराला, सिंह र निधिको इन्ट्री

पालिका डायरी
२७ मंसिर २०७८, ०९:५५
८ बजे मतदान सुरु हुने भनिएकोमा करिब साढे ९ मा मतपत्र आइपुग्यो, अध्यक्षका प्रत्यासी कोइराला, सिंह र निधिको इन्ट्री

 

काठमाडौं/  नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत आजबाट नयाँ नेतृत्वका लागि मतदान हुँदैछ। आज बिहान ८ बजेबाट मतदान सुरु गराउने नेपाली कांग्रेसको कार्यक्रम रहे पनि करिब साढे ९ बज्दा मात्र मतदानस्थलमा मतपत्र आइपुगेको छ।  मतदान सुरु हुन बाँकी नै रहँदा भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा मतदाता भने बिहानै देखि लाइनमा देखिएका छन्।

आइतबार अपराह्न उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको समितिले रातभरि मतपत्र छपाईलगायतका काम गरी मतदानको सम्पूर्ण तयारी गरेको जनाएको छ। मतदानका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ। मतदाताको सङ्ख्या बढी भएकाले मतदानमा सहजताका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको समिति सदस्य एगराज पोखरेलले जानकारी दिए।

भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभा गृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ। एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका राष्ट्रिय सभागृह, भृकुटीमण्डप प्राङ्गण र भृकुटीमण्डपको हलमा गरी सयौँ बुथ राखिएको छ। यस महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ रहेको छ।

सुरुमा सबै पद र क्लष्टरअनुसार विभिन्न २९ प्रकारका मतपत्र हुने भनिए पनि प्रदेश नं २ को (खुला) दुई सिटका उम्मेदवार (रमेश रिजाल र आनन्दप्रसाद ढुङ्गाना) निर्विरोध भएकाले अब २८ प्रकारका मतपत्र हुने बताइएको छ। सबै मतपत्रका लागि अलग–अलग मतपेटिकाको व्यवस्था गरिएको छ। निर्वाचन तालिकामा मतदान बिहान ८ देखि ५ बजेसम्म हुने उल्लेख गरिए पनि राति ८ बजेसम्म सम्पन्न हुने समितिको अनुमान छ।

मतदानस्थलमा अध्यक्षका प्रत्यासी शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह पुगेका छन्। त्यस्तै कोइराला प्यानलका महामन्त्रीका उम्मेद्वार गगन थापा तथा शेरबहादुर देउवा प्यानलका प्रकाशशरण महत बिहानै मतदाताहरुसँग सेल्फी खिच्दै मत मागेका थिए।

प्रतिक्रिया