नेकपा एसनिकट अनेरास्ववियूले भन्यो- ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि अत्याचारको पराकाष्टा’

पालिका डायरी
२५ कार्तिक २०७८, ११:१९
नेकपा एसनिकट अनेरास्ववियूले भन्यो- ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि अत्याचारको पराकाष्टा’

काठमाडौं/  सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को विद्यार्थी संगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थमा भइरहेको निरन्तरको मूल्यवृद्धिलाई अराजकताको पराकाष्टाको संज्ञा दिएको छ ।

अध्यक्ष सुदेश पराजुलीले बिहीबार एक विज्ञप्ति जारी गरेर पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै अत्याचारको पराकाष्टा रोक्न माग गर्नुभयो । उहाँले आफूहरूको माग सम्बोधन नगरिए आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिनुभयो ।

‘हिजोमात्रै पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउले ग्यासमा भएको मूल्य वृद्धिले आम जनताको ढाड सेक्ने काम भएको छ । निरन्तर रुपमा भइरहेको मूल्य वृद्धि अत्याचारको पराकाष्टा हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता जनविरोधी कदमको अनेरास्ववियु घोर भत्संना गर्दै शृखलाबद्ध रुपमा भइरहेको मूल्य वृद्धि तत्काल खारेज गर्न जोडदार माग गर्दछ ।’

नेपाल आयल निगमले बुधबारराति देखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ७५ रुपैयाँ मूल्यवृद्धि गरेको थियो ।

प्रतिक्रिया