ओलीसँग प्रचण्ड चनाखो- ‘हामी अहिले पनि रिल्याक्स गर्ने अवस्थामा छैनौँ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यव्यवहारप्रति अझिैँ होसियार रहनुपर्ने बताएका छन् ।
सोमबार नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गणतन्त्र विरोधी ओलीका व्यवहारहरुमाथि ध्यान दिन आवश्यक रहेको भन्दै रिल्याक्स गर्ने अवस्थामा नरहेको अध्यक्ष प्रचण्डले बताए ।
उनले भने, ‘मैलेचाहीँ दुई चार दिन अगाडिमात्र सुने । म त कहिल्यै पनि गणतन्त्रवादी थिइन र मलाई गणतन्त्र मन परेकै छैन भनेर गएको प्रधानमन्त्रीले बोलेको कुरा आयो । त्यसैले अहिले पनि हामी रिल्याक्स गर्ने ठाउँमा चाहीँ छैनौँ । थोरै, राजनीतिक नेतृत्वले रिल्याक्स गर्यो भने ठूलो क्षति हुँदोरहेछ भनेर पनि अनुभव गर्यौँ ।
प्रतिनिधिसभा विघटन गर्दा १५ मिनेट रिल्याक्स गरेको तर, रिल्याक्स गर्न नपाई सर्वोच्च अदालतले पार्टीलाई दुई चिरा बनाएको अनुभव पनि उनले सुनाए ।
‘पहिलो प्रतिनिधिसभा विघटन भयो हामीले देशव्यापी रुपमा अभियान चलायौँ । जसमा मलगायत माधव जी, झलनाथ जी सहभागी थियौँ । अन्ततः विघटनविरु फैसला भयो र हामीले जित महसुस गर्यौँ,’ उनले भने, ‘ र, हामीले १०/१५ मिनेट रिल्याक्स गर्यौँ । अब त जितियो भनेर गर्व गरेको प्रतिफल त अदालतले पार्टीलाई दुइटा बनाइदियो । हामी दुइटा भएकै थिएनौँ । चुनावमा लड्यौँ, पार्टी एकता गर्यौँ, घोषणा पत्र पनि बनायौँ ।’
त्यतिबेला निर्वाचन आयोगले आँखा चिम्लेर तत्कालीन नेकपाको आधिकारिता सदर गरेको भए ओलीको हैसियत नरहने पनि प्रचण्डले बताए । जबकि बहुमतसहित नेकपाबाट ओलीलाई हटाइएको थियो ।
अध्यक्ष प्रचण्डले आगामी निर्वाचन कसरी गर्ने भन्ने विषयमा पनि दुईथरि विचारमा छलफल चलिरहेको बताएका छन् । उनका अनुसार संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एकै पटक निर्वाचन गर्ने वा पहिले प्रतिनिधिसभाको निर्वाचन गरेर मात्र स्थानीय तहको निर्वाचन गर्नेबारे छलफल भइरहेको छ ।
