भोट माग्न लाइन लागे भीम रावल

पालिका डायरी
११ मंसिर २०७८, १८:२७

नेकपा एमालेको दशौँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका नेता भीम रावलले भोट माग्न थालेका छन् । संस्थापन पक्षले नेतृत्व चयनमा सर्वसम्मत गर्न भन्दै थरिथरिका अनौपचारिक बैठक र भेटघाट गरिरहँदा रावल भने भोट माग्न व्यस्त देखिएका छन् ।

रावलले बन्दसत्र हलभित्र छिर्न लाइन बसेका प्रतिनिधिलाई हात जोड्दै भोट मागिरहेका छन् । कुनै हालतमा आफ्नो उम्मेदवारीबाट ब्याक नहुने बताएका रावल प्रतिनिधिको मन जितेर बढीभन्दा बढी मत ल्याउने प्रयासमा रहेको निकटस्थहरुले बताएका छन् ।

यता, आफ्नै कोर टिमका सदस्यहरु एउटै पदमा प्रतिष्पर्धी बन्ने अवस्था बनेपछि अध्यक्ष केपी ओली भने सकसमा परेका छन् । वरिष्ठ उपाध्यक्षका दुई आकांक्षी ईश्वर पोखरेल र सुवास नेम्वाङ ओलीका खास हुन् । त्यस्तै, महासचिवमा आकांक्षी रहेका विष्णु पौडेल र शंकर पोखरेल दुवै ओलीको कोर टिमका सदस्य हुन् । उनीहरुमध्ये एउटालाई रोज्नुपर्ने बाध्यता ओलीलाई छ ।

यहि कठिनाइका बीच ओलीले बिहानभर गरेका छलफल निरर्थक बनेपछि ढिलो गरी भर्खरै बन्दसत्र शुरु भएको छ ।

प्रतिक्रिया