विद्युतीय बस खरिद र कुलेखानी-हेटौंडा सुरुङमार्ग बनाउने योजना हाललाई स्थगित

पालिका डायरी
२७ कार्तिक २०७८, १८:३२

 

हेटौंडा/ बागमती प्रदेश सरकारले विद्युतीय बस खरिद गर्ने र कुलेखानी-हेटौंडा सुरुङमार्ग बनाउने योजना हाललाई स्थगित गरेको छ ।

मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो पार्टी एकीकृत समाजवादीको केन्द्रीय बैठकलाई दिएको जानकारीअनुसार विद्युतीय बस खरिद गर्नेको योजना हाललाई स्थगित गरिएको छ । डोरमणि पौडेल नेतृत्वको सरकारले विद्युतीय बस खरिद गर्न भनेर ३० करोड रुपैयाँ रकम छुट्याएको थियो ।

तर सडक पूर्वाधार पनि नभएको र चार्जिङ स्टेशन पनि नबनेकाले हाललाई विद्युतीय बस खरिदको योजना स्थगित गर्नुपरेको मुख्यमन्त्री पाण्डेले बताउनु भयो । विद्युत बस ल्याउने भनेर केही सांसद भारत र चीनको भ्रमण गरेको पाइएको भन्दै उहाँले भन्नुभयो, ‘जनकपुरको रेल जस्तै त्रिपाल ओढाएर राख्ने योजना रहेछ, हाललाई यो स्थगित गरेका छौं ।’

यस्तै कुलेखानी-हेटौंडा सुरुङमार्गलाई अघिल्लो सरकारले ५० करोड रुपैयाँ बजेट छुट्याएको थियो । तर यो आयोजनामा सरकारले १८ अर्ब रुपैयाँ लागत अनुमान गरेको भएपनि ३० अर्ब लाग्ने देखिएको र केन्द्र सरकारले रकम दिने सुनिश्चितता पनि नभएकाले यो योजना पनि हाललाई स्थगित गरेको पाण्डेले बताउनु भयो ।

उहाँले भन्नुभयो, बजेटको सुनिश्चितता नभएसम्म यो ५० करोड यहाँ दुरुपयोग गर्नु हुँदैन भनेर हामीले हाललाई स्थगित गरका हौं ।’

प्रतिक्रिया