डिभी भर्न पासपोर्ट अनिवार्य हुँदा विभागमा दैनिक ५ हजारको आवेदन, अनियन्त्रित भीड

पालिका डायरी
१४ कार्तिक २०७८, २०:३२
डिभी भर्न पासपोर्ट अनिवार्य हुँदा विभागमा दैनिक ५ हजारको आवेदन, अनियन्त्रित भीड

 

काठमाडौं/ पासपोर्ट बनाउन मध्यरातमै लाईन लाग्नेहरुको भीड बढ्न थालेको छ । राहदानी विभागले दैनिक ८ सय टोकन दिँदै आएको छ । तर टोकन लिनका लागि लाम लाग्नेको संख्या भने हजारौं छ । यसअघि विभागमा दैनिक १५ सयको आवेदन पर्ने गरेको थियो तर अहिले त्यो संख्या बढ्दै दैनिक ५ हजार बढीको आवेदन पर्ने गरेको छ । देशमा बेरोजगारी बढ्दा वैदेशिक रोजगारीमा युवाहरुको आकर्षण बढ्नु र विभागको व्यवस्थापनको कमजोरीले समेत अनियन्त्रित भीड बढेको हो ।

पछिल्ला केही दिन यता अमेरिका जान डिभी भर्ने युवाको ठुलो संख्याले विभागमा भिड बढ्दै आएको थियो । तर आईतबार भने यो संख्यामा वृद्धि हुँदै लैनचौरसम्म लाम पुग्यो । पछिल्लो समय अमेरिकाको डिभि, ईजरायल रोजगारी र ब्रिटिस आर्मीमा नेपालीको माग बढ्नुले यो भिड लागेको हो । लाईन लाग्ने अधिकाशं डिभी भर्नका लागि पासपोर्ट अनिवार्य भएकोले राती नै उठेर लाईनका लाग्न आएको बताउँछन् ।

डिभी चिठ्ठा खुलेपछि केहि वर्षयता पासपोर्ट विभाग भीड लाग्ने गरेको छ । गत वर्षबाट अमेरिकाले डिभी भर्न अनिवार्य पासपोर्ट नम्बरको व्यवस्था गरेपछि यो भिड अझै बढेको हो । विभागमै नियमित वैदेशिक रोजगारीमा जानेहरु समेत घण्टौं लाईन बसिरहेका छन् ।

विभागले आगामी केही दिनमै ईलेक्ट्रिोनिक पासपोर्ट जारी गर्ने तयारी गरेको र यो भिडभाड घट्ने विभागका निर्देशक सागर फुयाँल बताउनुहुन्छ ।

सरकारले देशमै रोजगारी सिर्जना गरी उत्पादन बढाउने प्रतिवद्धता व्यक्त गरिरहँदा पासपोर्टका लागि लागेको लाईन आफैंमा विडम्बनापूर्ण छ ।

प्रतिक्रिया