एमाले महाधिवेशनमा १५ सय ३६ प्रतिनिधि, हरेक जिल्लाबाट एक दलित अनिवार्य

पालिका डायरी
११ कार्तिक २०७८, २१:४७
एमाले महाधिवेशनमा १५ सय ३६ प्रतिनिधि, हरेक जिल्लाबाट एक दलित अनिवार्य

काठमाडौं / नेकपा (एमाले)को १०औं महाधिवेशनमा १५ सय ३६ प्रतिनिधि सहभागी हुने भएका छन् ।

बिहीबार बसेको स्थायी कमिटीको बैठक ७ लाख २१ हजार पार्टी सदस्यहरूबाट १५ सय ३६ जना प्रतिनिधि छनोट गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । ११ सय ९६ जना भूगोलबाट, २ सय ६२ जना पदेन र यसको पाँच प्रतिशत मनोनयन गर्ने गरी १५ सय ३६ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने उहाँले बताउनुभयो ।

प्रवक्ता ज्ञवालीका अनुसार महाधिवेशनमा समावेश ५१ प्रतिशत प्रतिनिधि समावेशी हुनेछन् भने ४९ प्रतिशत खुला रहनेछन् । हरेक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १५ सय सदस्य बराबर १ जना प्रनिनिधि आउने निर्णय पनि बैठकले गरेको छ । त्यसमा १ हजार सदस्य बढ्दै जाँदा थप १ जना प्रतिनिधि थपिएर आउने उहाँको भनाइ छ ।

एउटै प्रतिनिधि सभामा अनिवार्य तीन जनाबाहेक थप तीन जना थपिएमा एकजना महिला अनिवार्य गरिने निर्णय पनि बैठकले गरेको छ । महाधिवेशनमा हरेक जिल्लाबाट एक–एक जना दलित प्रतिनिधिहरू चयन हुनेछन् । हरेक प्रदेशबाट पार्टी सदस्य मजदुरबाट मजदुर प्रनिनिधि, हरेक जनसंगठनबाट पाँच–पाँच जनाले प्रतिनिधित्व गर्ने उहाँले बताउनुभयो ।

पार्टीको केन्द्रीय विभाग र केन्द्रीय कार्यालयलाई एउटा निर्वाचन क्षेत्र मानेर दुईजना खुला र एक जना महिला प्रतिनिधिले महाधिवेशनमा प्रतिनिधित्व गर्ने निर्णय भएको पनि प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । प्रवासमा रहेका समर्थक र शुभचिन्तकबाट २० जनालाई प्रतिनिधित्व गराउने स्थायी कमिटीको प्रस्ताव छ ।

यस्तै, बिहीबारकै बैठकमा महाधिवेशन मूल व्यवस्थापन कमिटीको तर्फबाट सह–संयोजक सुरेन्द्र पाण्डेले चिवतनमा महाधिवेशनको तयारीको सन्दर्भमा भइरहेको गतिविधिको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले नारायणी नदी किनारमा खुला सभा गर्ने र सौराहमा बन्दसत्र गरिने जानकारी दिनुभएको प्रवक्ता ज्ञवालीको भनाइ छ ।

स्थायी कमिटीको प्रस्ताव र निर्णयलाई शुक्रबार बस्ने केन्द्रीय कमिटीको बैठकमा लगिने र त्यहिँबाट थप संशोध गरेर महाधिवेशन प्रतिनिधिको सन्दर्भमा टुंगो लगाइने उहाँले बताउनुभयो ।

प्रतिक्रिया