हमाल हाम्रै मान्छे हुन्, विचरा बस्न नसक्ने भएपछि राजीनामा दिए : प्रधानमन्त्री देउवा

पालिका डायरी
११ कार्तिक २०७८, ०७:१३

 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीशका जेठान पर्ने गजेन्द्र हमाललाई मन्त्री बनाइएको विषयमा बोलेका छन् ।

बुधबार नेपाल तरुण दलले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधामन्त्री देउवाले हमाल कांग्रेसको कार्यकर्ता भएको र मन्त्री भएपनि बस्न नसक्ने भएपछि राजीनामा दिएको स्पष्ट पारे ।

कांग्रेस सभापतिसमेत रहेका देउवाले भने, ‘मैले तपाईंहरुलाई भनेको भन्यै छु । हमाल हाम्रो पार्टीको मान्छे हो । विचरा, बस्न नसक्ने भएपछि राजीनामा दिए । यो कुरा सिद्धिइसकेको थियो, तर कुरा उठाएका उठाएकै छन् ।’

हमाल प्रकरणका कारण अहिले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि सम्पूर्ण न्यायकर्मी उत्रिएका छन् । प्रधानन्यायाधीशले अविलम्ब राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माग छ ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले अदालतको बारेमा पनि आफ्नो धारणा राखे । उनले अदालतबारे धेरै बोल्न नमिल्ने टिप्पणी गर्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि खनिन पुगे ।

परमादेशको सवाललाई उठाएर सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने भनेर अध्यक्ष ओलीले दिएको अभिव्यक्तिप्रति आक्रोसित भए ।

प्रधानमन्त्री देउवाले अदालतमा देखिएको समस्या समाधान गर्ने काम अदालतकै भएको तर्क गरे ।

प्रधानमन्त्री देउवाले भने, ‘परमादेश ल्याउने सबैलाई हटाउनुपर्दछ भन्ने गैरजिम्मेवार कुरा गर्नु उचित हुँदैन जस्तो लाग्दछ मलाई । अरुकुरा धेरै केही भन्नु छैन तपाईंहरुलाई । हाम्रो गठबन्धन ५ पार्टीको जो छ, जे उठेका सवालहरु छन्–न्यायालय सम्बन्धमा । सरसल्लाह, छलफल गर्नेछौं । यसमा धेरै कुरा छैन ।’

परमादेशबाट संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरुले गरेको बताउदै त्यसको विरोध नगर्न पनि एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री देउवाले सचेत गराए ।

प्रतिक्रिया