पार्टी संरचना कब्जा गर्ने फोहोरी खेलमा नेतृत्व लाग्दा कांग्रेसमाथि अवैधको प्रश्न उठ्यो–प्रकाशमान सिंह

पालिका डायरी
७ कार्तिक २०७८, १३:२२
पार्टी संरचना कब्जा गर्ने फोहोरी खेलमा नेतृत्व लाग्दा कांग्रेसमाथि अवैधको प्रश्न उठ्यो–प्रकाशमान सिंह

 

जनकपुर/ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी संरचना आफ्नो पक्षमा पार्ने फोहोरी खेलमा नेतृत्व तह लिप्त हुँदा कांग्रेसमाथि अवैधको प्रश्न उठ्न थालेको बताउनुभएको छ ।

जनकपुरमा संवाददाताहरुसँग नेता सिंहले १३ औं महाधिवेशनबाट चुनिएर आएका सभापति र पदाधिकारीहरुको अयोग्यताकै कारण पार्टी अवैध हुने अवस्थामा पुगेको आरोप लगाउनुभयो ।

केही जिल्लाको महाधिवेशन सकिँदा केही जिल्लाको क्रियाशील सदस्यता नै नटुग्याउनु नेतृत्वको चरम अक्षमता र लापरवाही भएको उहाँको भनाइ थियो ।

पदाधिकारीहरुले महाधिवेशनलाई निकै हल्का रुपमा लिएर चार चार पटक मिति परिवर्तन गरेको भन्दै अब कुनै हालतमा पनि मिति सार्न नदिने चेतावनी सिंहले दिनुभयो । तोकिएको समय मंसिर ९ मै केन्द्रीय महाधिवेशन गरिनुपर्नेमा उहाँको जोड थियो ।

आफ्नो स्वार्थ परुा गर्नकै लागि हुँदै नभएको क्रियाशील सदस्यताको विवाद चर्काइएको भन्दै उहाँले निर्वाचन समितिलाई तत्काल क्रियाशील सदस्यको सूची जिम्मा लगाउन नेतृत्वसँग आग्रह गर्नुभयो ।

१४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बनेरै छाड्ने दृढता देखाउँदै सिंहले भन्नुभयो, ‘महाधिवेशन शुरु भइसक्यो, क्रियाशील सदस्य नदिने के तरिका हो यो ? परिणाम आफ्नो पक्षमा पार्नका लागि यो सबै खेल भइरहेको छ ।’

महाधिवेशनलाई खेलाँचीका रुपमा लिइएमा सह्य नहुने चेतावनी दिँदै सिंहले भन्नुभयो, ‘१४ औं महाधिवेशनमा नेतृत्व परिवर्तनको आवश्यकता छ । म सभापतिको अभियानमा हामिइसकेँ ।’

पाटीलाई संस्थागत गर्ने एकसूत्रीय अभियान आफ्नो रहेको भन्दै उहाँले भन्नुभयो, ‘ए कांग्रेस, बी कांग्रेस भन्ने गूटीय अवधारणा समाप्त गर्नुपर्दछ । विधि नियम अनुसार चल्ने पार्टी बनाउने मेरो ध्येय छ ।’

प्रतिक्रिया