सरकारले गति लिन सकेन, हामी सम्हालिनुपर्छ– गगन थापा

पालिका डायरी
५ कार्तिक २०७८, १५:५०
सरकारले गति लिन सकेन, हामी सम्हालिनुपर्छ– गगन थापा file photo

 

काठमाडौं /  नेपाली कांग्रेसका नेता गगन थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउनुभएको छ ।

पूर्वमन्त्रीसमेत रहेका थापाले सरकारले आफ्नो काममा गति पक्रन नसकेको भन्दै असन्तुष्टि जनाउनुभएको हो । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले शुक्रबार गरेको कार्यक्रममा उहाँले भारत र चीनबाट फाइदा लिने मौका नचुकाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले जुन गति पक्रनुपर्ने हो, त्यो गति हामीले पक्रन सकेका छैनौं । जसरी हामीले २००७ सालपछिको समय खेर फाल्यौं त्यसरी नै फेरि अब अर्को मौका खेर फाल्दैछौं कि भन्ने डर लाग्न थालेको छ । यो बेला सम्हालिनुपर्नेछ ।’

नेता थापाले विद्युत खपत बढाउने विषयमा सोच्न पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभयो । उहाँले विद्युत खपत बढाउने बेला आएको र त्यसका लागि सरकारले योजनावद्ध सोच अगाडि ल्याउन ढिलाई गर्न नहुने स्पष्ट पार्नुभयो ।

नेता थापाले नेपाल विद्युत प्राधिकरणले आर्जन गरेको प्रतिष्ठा जोगाउने गरी काम गर्न प्राधिकरणका कर्मचारीलाई आग्रह गर्नुभयो । उहाँले देशलाई बनाउने हो भने सबैले आ–आफ्नो ठाउँको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

प्रतिक्रिया