बकैयाको विद्यालय कर्मचारीको न्युनतम मासिक पारिश्रमिक व्यवस्था गर्न शिक्षक संगठनको माग

पालिका डायरी
२० आश्विन २०७८, २०:२३
हेटौंडा / बकैया गाउँपालिका भित्र रहेको प्रारम्भिक बाल विकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीहरुलाई न्युनतम मासिक पारिश्रमिक व्यवस्था गर्न माग गरिएको छ । मंगलबार नेपाल राष्ट्रिय शिक्षक संगठन,बकैयाले गाउँपालिका भित्रका प्रारम्भिक बाल विकास केन्द्रमा कार्यरत शिक्षिका र विद्यालय तहमा कार्यरत विद्यालय कर्मचारीलाई न्युनतम तलबभत्ता व्यवस्था गर्न माग गरेको हो । संगठनका अध्यक्ष राधेश्याम राईले गाउँपालिका अध्यक्ष दामोदर खनाललाई ज्ञापनपत्र बुझाउँदै प्रारम्भिक बाल विकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीलाई नेपाल सरकारले २०७८/७८ को बजेटमा निर्धारण गरे अनुसार न्युनतम मासिक पारिश्रमिक व्यवस्था गर्न आग्रह गरेका छन् । अध्यक्ष राईले बाल विकास केन्द्रका सहजकर्ता र विद्यालय कर्मचारीको लागि सरकारले १५ हजार उपलब्ध गराउने र न्युनतम मासिक पारिश्रमिक भन्दा कम आउने रकम सम्बन्धित स्थानीय तहले व्यहोर्ने २०७८/७९ बजेट भाषणमा उल्लेख भएको भन्दै आफ्नो स्थानीय तहमा न्युनतम मासिक पारिश्रमिक लागु गर्न आग्रह गरेका हुन् । यसैगरि,अध्यक्ष राईले २०७८/७९ को प्रथम त्रैमासिक निकासामा गाउँपालिकाले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षिक र विद्यालय कर्मचारीहरुलाई संघिय सरकारले थप गरेको २ हजार तलब समेत समावेश नगरेको भन्दै संगठनको गम्भिर ध्यानाकर्षण भएको बताए । उनले सरकारले निर्धारण गरेको न्युनतम मासिक पारिश्रमिक तलबभत्ता यथाशीघ्र व्यवस्था गर्न आग्रह गरे । ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष खनाल,उपाध्यक्ष सरला बोलखे,प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनी,प्रारम्भिक बाल विकास केन्द्रका शिक्षिका एवं विद्यालय कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया