विद्यालय सुधारको नेतृत्व अब समुदायले नै गर्नुपर्छ : वडाध्यक्ष फुर्वा दोर्जे लामा
हेटौँडा / हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष फुर्वा दोर्जे लामाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय, अभिभावक, शिक्षक र समुदायबीच साझा जिम्मेवारी र सहकार्य आवश्यक रहेको बताएका छन्।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० कार्यालयको आयोजनामा सञ्चालन हुन गइरहेको चौथो संस्करणको बृहत् शैक्षिक, सांस्कृतिक, डम्फु तथा घरेलु प्रदर्शनी महोत्सव–२०८३ अन्तर्गत शैक्षिक सुधार कार्यक्रमको अवधारणा सार्वजनिक गर्दै वडाध्यक्ष लामाले ‘हामी बनाउँछौँ हाम्रो विद्यालय बनाउँछौँ भन्ने अभियानलाई अघि सारेका हुन्।
उनका अनुसार शिक्षा समाज रूपान्तरण, सभ्य समाज निर्माण र समृद्ध राष्ट्र विकासको प्रमुख आधार हो। विद्यालय पाठ्यपुस्तकमा आधारित ज्ञान प्रदान गर्ने संस्था मात्र नभई विद्यार्थीको नैतिक, सामाजिक, सांस्कृतिक, बौद्धिक तथा व्यावहारिक क्षमता विकास गर्ने महत्वपूर्ण थलोसमेत हो।
विद्यालयको वास्तविक सुधार भौतिक संरचना निर्माणमा मात्र सीमित हुन नहुने उल्लेख गर्दै उनले शैक्षिक गुणस्तर, नैतिक शिक्षा र विद्यार्थीको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका छन्। कार्यक्रमको मुख्य उद्देश्य विद्यालयमा शैक्षिक सुधारसँगै नैतिक शिक्षाको प्रवर्द्धन गर्नु र लागूऔषध दुर्व्यसनमुक्त विद्यालय अभियानलाई प्रभावकारी बनाउनु रहेको छ।
विद्यार्थीलाई अनुशासित, जिम्मेवार, संस्कारी र असल नागरिकका रूपमा विकास गर्न विद्यालयस्तरबाटै नैतिक मूल्य, सामाजिक उत्तरदायित्व र लागूऔषधविरुद्धको चेतना अभिवृद्धि गर्नुपर्नेमा उनको जोड छ।
हामी बनाउँछौँ, हाम्रो विद्यालय बनाउँछौँ भन्ने अवधारणाले विद्यालय सुधारको जिम्मेवारी शिक्षक र विद्यालय प्रशासनको मात्र नभई अभिभावक, विद्यार्थी, जनप्रतिनिधि तथा सम्पूर्ण समुदायको साझा दायित्व हो भन्ने सन्देश दिन खोजेको छ।
विद्यालयको शैक्षिक वातावरण सुधार्दै विद्यार्थीको भविष्य निर्माण र लागूऔषध दुर्व्यसनमुक्त समाज निर्माण गर्ने लक्ष्यसहित वडा नम्बर १० ले महोत्सवमार्फत शैक्षिक सुधारको अभियानलाई अघि बढाउन खोजेको देखिन्छ

