हिजो तोलामा ६५ सय घटेको सुनको भाउ आज फेरि बढ्यो
हिजो (बुधबार) तोलामा ६५ सय घटेको सुनको भाउ आज फेरि बढेको छ।
सुनको भाउ आज तोलामा १ हजार ४ सय रुपैयाँ बढेर २ लाख ४२ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको भाउ हिजो तोलामा ६ हजार ५ सय रुपैयाँ घटेर २ लाख ४१ हजार ४ सयमा झरेको थियो। गएको सोमबार र मंगलबार दुई दिनमा सुनको भाउ ५ हजार २ सय रुपैयाँ बढेको थियो। यसअघि गत कात्तिक २३ गतेदेखि एक सातामा सुनको भाउ निरन्तर घट्दा ४१ हजार ७ सय रुपैयाँ सस्तिएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा ३५ रुपैयाँ बढेर चाँदीको भाउ ३ हजार ७५ रुपैयाँमा उक्लिएको महासंघले जनाएको छ। गत वर्षको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय पुगेको थियो।
नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसयताको झण्डै १० महिनामा सुनको भाउ ९६ हजार ७ सय रुपैयाँ घटिसकेको छ। त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

