हेटौँडा–१५ मा स्नुकरको रौनक, निश्चलको दोहोरो सफलता दिवङ्गतको सम्झना, खेलाडीको सम्मान

पालिका डायरी
५ मंसिर २०८३, २०:०७

गत भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका हेटौँडा १५ निवासी स्वर्गीय सुमन गोले र रमेश मगरको स्मृतिमा आयोजित १५ नं. वडास्तरीय स्नुकर च्याम्पियनसिप–२०८३ सम्पन्न भएको छ। प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै निश्चल गुरुङ च्याम्पियन बन्न सफल भएका छन्।

हेटौँडा १५ खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको समापन समारोह समितिका अध्यक्ष गोविन्द नेगीको सभाध्यक्षता तथा पूर्वमन्त्री एवं बागमती प्रदेशसभा सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा हेटौँडा १५ का वडाध्यक्ष सुनिल मोक्तान विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मोक्तानले खेलकुदलाई केवल मनोरञ्जन र प्रतिस्पर्धामा मात्र सीमित राख्न नहुने बताइन्। खेलकुदले युवालाई अनुशासित, ऊर्जाशील र सिर्जनशील बनाउनुका साथै स्थानीय प्रतिभाको पहिचान र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो
उनले स्वर्गीय सुमन गोले र रमेश मगरको स्मृतिमा प्रतियोगिता आयोजना गरेर खेलकुदमार्फत दिवङ्गत व्यक्तित्वप्रतिको सम्मान र सम्झनालाई जीवन्त राख्ने प्रयास सराहनीय रहेको बताइन्। यस्ता गतिविधिले समुदायलाई एकताबद्ध बनाउनुका साथै स्थानीय क्षेत्रको पहिचान स्थापित गर्नसमेत सहयोग पुग्ने उनले उल्लेख गरिन्।

हेटौँडा १५ ले दूरदर्शी सोचका साथ खेलकुदसहित विभिन्न सिर्जनात्मक तथा बहुआयामिक गतिविधि अघि बढाएको भन्दै मोक्तानले वडाध्यक्ष सुनिल मोक्तान र वडा परिवारको प्रशंसासमेत गरिन्।

निश्चलको दोहोरो सफलता, ३० हजारसहित च्याम्पियन
प्रतियोगिताको अन्तिम नतिजाअनुसार निश्चल गुरुङले उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरे। उनले उपाधिसँगै ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। त्यस्तै, विशाल वाइबा द्वितीय हुँदै १५ हजार रुपैयाँ पुरस्कार हात पार्न सफल भए।

सेमिफाइनलसम्मको यात्रा तय गरेका सबिन स्याङतान र रवि बज्युले जनही ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। प्रतियोगिताभर उत्कृष्ट खेल प्रदर्शन गरेका निश्चल गुरुङले ‘हाइएस्ट ब्रेक’ को उपाधिसमेत जित्दै थप ५ हजार रुपैयाँ नगद पुरस्कार हात पारे।
विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई शिल्ड, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
खेलकुदमार्फत वडा चिनाउने वडाध्यक्ष मोक्तानको पहल
दिवङ्गत व्यक्तिहरूको स्मृतिलाई खेलकुदसँग जोड्दै स्थानीय युवाको प्रतिभा पहिचान, प्रोत्साहन र खेल संस्कृतिको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

हेटौँडा–१५ मा खेलकुद गतिविधिलाई निरन्तरता दिँदै स्थानीय खेलाडीलाई राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण निर्माण गर्ने प्रयासका रूपमा प्रतियोगितालाई हेरिएको छ।
प्रतियोगिताले खेलाडीबीच प्रतिस्पर्धात्मक भावना विकास गर्नुका साथै नयाँ प्रतिभालाई अगाडि बढ्न प्रेरित गरेको आयोजकको विश्वास छ। स्मृतिलाई सम्मान, युवालाई अवसर र खेलकुदलाई पहिचान बनाउने उद्देश्यसहित सम्पन्न प्रतियोगिताले हेटौँडा–१५ को खेलकुद विकासमा थप ऊर्जा थपेको छ।

प्रतिक्रिया