भीमफेदीको सोलाभन्ज्याङमा उज्यालो नेपाल पार्टीको टोल कमिटी गठन

पालिका डायरी
१३ कार्तिक २०८३, १६:४४

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–५ स्थित सोलाभन्ज्याङमा उज्यालो नेपाल पार्टीले संगठन विस्तार गरेको छ। पार्टीले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै ९ सदस्यीय सोलाभन्ज्याङ टोल कमिटी गठन गरेको हो। पार्टीले आयोजना गरेको विशेष भेला तथा ‘उज्यालो संवाद’ कार्यक्रममा राजकुमार गोम्जाको अध्यक्षतामा टोल कमिटी गठन गरिएको छ। कमिटीको सचिवमा सबिना घिसिङ चयन भएकी छन्।

त्यस्तै, वडास्तरीय गतिविधि र समन्वयका लागि सुशिला घिसिङ, नरेश तामाङ, प्रशान्ति लामा, सोमबहादुर पाख्रिन र सुनिता प्रजालगायतलाई वडा प्रतिनिधिका रूपमा चयन गरिएको छ। कार्यक्रममा उज्यालो नेपाल पार्टीको विचार, नीति तथा कार्यक्रम र समृद्धिको मार्गचित्रबारे स्थानीयलाई जानकारी गराइएको थियो। पार्टीले अघि सारेको ‘हरित क्रान्ति’को अवधारणाबारे समेत छलफल गरिएको थियो। कार्यक्रममा नयाँ सदस्यलाई सदस्यता वितरण गर्नुका साथै पार्टीको नीति तथा दृष्टिकोणबारे प्रशिक्षण र वैचारिक अन्तरक्रिया गरिएको पार्टीका भीमफेदी पालिका कमिटी सदस्य प्रबिन गोम्जाले जानकारी दिए।

उनका अनुसार ‘उज्यालो संवाद’मार्फत स्थानीय बासिन्दासँग पार्टीका विचार र एजेण्डाबारे प्रत्यक्ष छलफल गरिएको थियो। कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिता रहेको उनले बताए। कार्यक्रममा उज्यालो नेपाल पार्टीका बागमती प्रदेश कमिटी सदस्य बद्री स्याङतान, भीमफेदी गाउँपालिका कमिटी अध्यक्ष आशिष अस्लामी, पालिका कमिटी सदस्यहरू राजिब तामाङ, प्रबिन गोम्जा र दिनेश रानामगरलगायत स्थानीय नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।स्थानीय तहमा संगठन विस्तार र नागरिकसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यसहित पार्टीले भीमफेदीमा टोलस्तरीय गतिविधिलाई अघि बढाएको जनाएको छ।

प्रतिक्रिया