सपना पूरा गर्न संगीताले गरेको संघर्ष, आज सौन्दर्य क्षेत्रमा आफ्नै पहिचान
हेटौंडा / सपना देख्नु र सपनालाई वास्तविकतामा बदल्नु फरक कुरा हुन् । सपना पूरा गर्न संघर्ष, धैर्य र निरन्तर मेहनत चाहिन्छ । हेटौँडाकी संगीता श्रेष्ठको जीवनयात्रा यसको एउटा उदाहरण हो । ब्युटी पार्लरको सीप सिक्न उनले अनेक कठिनाइ झेलिन् । तर, कठिनाइले उनको यात्रालाई रोक्न सकेन । आज त्यही सीप र मेहनतले उनलाई हेटौँडाको सौन्दर्य क्षेत्रमा छुट्टै पहिचान दिलाएको छ ।
२०४५ साल असारमा बारामा जन्मिएकी संगीताको सानैदेखिको इच्छा थियो पार्लर सिक्ने । २०६२ सालतिर एसएलसीको परिक्षा दिएपछि उनका परिवारले कम्प्यूटर सिक्न बजार पठाए । तर उनी इन्सिच्यूट गइनन् । कम्प्यूटर सिक्न घरबाट ल्याएको पैसाले पार्लर सिकिन् । ‘उतीबेला सबैभन्दा मुस्किलको काम नै पार्लर सिक्नु थियो, संगीताले भनिन्, घरमा थाहा पाए छोरी बिग्रिन्छे भन्ने डरले पठाउँदैन थिए । भन्दै नभनी सिकिरहेँ । क्याम्पस पढ्न वीरगंज बस्दा पनि पार्लर सिक्दै काम गर्दै पढेँ ।’

कक्षा १२ को पढाइ सकिएपछि संगीताको बिवाह भयो । हेटौंडाका जय श्रेष्ठसँग बैवाहिक बन्धनमा बाँधिएकी उनलाई जयले व्याजलर्स पढ्न सुझाब दिए । माइतीमा मुस्किलले सिकेको सीपलाई उनी जीवनभर खर्च गर्न चाहान्थिन् । पढ्न भन्दा पनि पार्लरमै मन लगाउन थालेपछि उनले काठमाडौँमा बसेर सौन्दर्यकर्मी कमला श्रेष्ठको पार्लरमा थप कामहरु सिकिन् । एक वर्ष सिकेर हेटौंडा फर्किएपछि उनले हेटौंडा–४ स्थित स्कुलरोडमा पार्लर सञ्चालनमा ल्याइन् ।
भाडाको घरको एउटा सानो किचन कोठाबाट २० वर्षअघि पार्लर सुरु गरेकी संगीता अहिले हेटौंडाकी सफल सौन्दर्यकर्मीको रुपमा परिचित छिन् । ‘उतीबेला पार्लर खोल्ने भन्न पनि डरै मान्नुपर्ने बेला थियो। न श्रीमान्ले विश्वास गरेका थिए । न त परिवारका अन्य सदस्यले, उनले भनिन्, ‘पहिले आफ्नै आँटमा पार्लर सुरु गरेँ । अहिले त पार्लरको कामहरु पनि अपडेट हुन थाल्यो । मान्छेहरुले बुझन् पनि थाले । धेरै सजिलो छ ।’

२० वर्षको अवधिमा संगीतासँगै सीप सिकेर धेरै महिला सौन्दर्यकर्मीका रूपमा स्थापित भएका छन् । उनले सीप सिकाएका कतिपय महिला आफैँले पार्लर सञ्चालन गरिरहेका छन् भने कतिपय यही पेसाबाट आत्मनिर्भर बनेका छन् । संगीताका लागि यो केवल व्यवसाय विस्तारको यात्रा मात्र होइन, आफूले सिकेको सीप अरूलाई सिकाउँदै उनीहरूलाई पनि आत्मनिर्भर बनाउने अवसरसमेत बनेको छ ।
संगीताको संघर्ष र मेहनतले अहिले परिवारलाई नै एउटै पेसामा जोडेको छ । कुनै समय पार्लर सिक्न र सञ्चालन गर्न अनेक कठिनाइ झेलेकी संगीताको यात्रामा अहिले उनका श्रीमान् जय श्रेष्ठले पनि साथ दिइरहेका छन् । नेपाली सेनाको जागिर छाडेर जयले श्रीमतीकै पेसा रोजेका हुन् । उनले संगीताले सञ्चालन गर्दै आएको सिजनन्स व्यूटीपार्लस एण्ड ट्रेनिङ सेन्टरको अर्को शाखा सञ्चालनमा ल्याएका छन् ।

सुरुवाती दिनमा पार्लर व्यवसायप्रति परिवारको विश्वास जित्नसमेत संघर्ष गर्नुपरेकी संगीताका लागि अहिले श्रीमान् नै व्यावसायिक सहयात्री बनेका छन् । संगीताले वर्षौँको मेहनतबाट आर्जन गरेको अनुभव र सीपलाई जयले पनि आत्मसात् गर्दै व्यवसायलाई थप विस्तार गरिरहेका छन् । कुनै समय आफ्नो रुचि पूरा गर्न एक्लै अघि बढेकी संगीता अहिले श्रीमान्को साथमा सौन्दर्य व्यवसायलाई नयाँ उचाइमा पु¥याउने यात्रामा छिन् । यसले उनको सफलतालाई व्यक्तिगत उपलब्धिमा मात्र सीमित राखेको छैन, परिवारकै साझा पेसा र उद्यमको रूपसमेत दिएको छ । सुरुवाती दिनमा ३० हजार रुपैँया पुँजीबाट सुरु गरेको व्यवसाय यतिबेला करोड नजिक पुगेको उनी बताउँछिन् ।


