हेटौंडामा श्रीमान् मृत फेला, श्रीमती घाइते
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ भावना मार्गमा एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। उनकी श्रीमती घरभित्रै घाइते अवस्थामा फेला परेकी छन्।
४५ वर्षीय शंकर कार्की मृत फेला परेका छन् भने ४० वर्षीया श्रीमती चरिमाया कार्की घाइते अवस्थामा भेटिएकी हुन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार बिहान करिब १ः४५ बजे आफन्त सहित प्रहरी टोली घटनास्थल पुग्दा घरभित्रबाट चुकुल लगाएको अवस्थामा फेला परेका थिए। चरिमायाको माइती रामेछापबाट फोन नउठेको भन्दै शंकरकी दिदी भवानी महतलाई फोन आएपछि उनी भाइको घर पुगेकी थिइन्।
घरभित्रबाट चुकुल लगाइएको अवस्थामा पाएपछि उनले स्थानीयलाई खबर गरेकी थिइन्। त्यसपछि स्थानीयमार्फत प्रहरीलाई खबर गरिएको आफन्तले बताए।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक डीएसपी माधव काफ्लेका अनुसार प्रहरी टोली घटनास्थल पुगेर स्थानीय र शंकरकी दिदी तथा भिनाजुको रोहबरमा दोस्रो तलामा रहेको ढोका फोडेर भित्र प्रवेश गरेको थियो।
डीएसपी काफ्लेका अनुसार घरभित्र शंकर झुण्डिएको अवस्थामा फेला परेका थिए भने चरिमाया भान्सा कोठामा घाइते अवस्थामा भेटिएकी थिइन्। भान्सा कोठाको ढोकामा बाहिरबाट चुकुल लगाइएको थियो।
घाइते चरिमायाको मुख, टाउको र दुवै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। उनलाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ। थप उपचारका लागि उनका छोराले चितवन लगेका छन्।
घटनास्थलमा रगत लागेको ढुङ्गाको लोहोरो र इँटा फेला परेको प्रहरीले जनाएको छ। घटनाका बेला घरमा श्रीमान् र श्रीमती मात्रै रहेको प्रारम्भिक विवरणमा उल्लेख छ।
घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक किशोर आचार्यको कमान्डमा प्रहरी टोली खटिएको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक उमाशंकर प्रसादको टोलीसमेत घटनास्थल र अस्पतालमा खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


