अझै भेटिएनन् आइतबार बिहान सुमोसँगै सुनकोसीमा खसेका ३ जना

पालिका डायरी
३ कार्तिक २०८३, १३:०७

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सुनकोसी नदीमा आइतबार बिहान सुमो खस्दा बेपत्ता भएका तीन जना अझै फेला परेका छैनन्। उनीहरूको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

काठमाडौँबाट खोटाङ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो आइतबार बिहान साढे २ बजे नदीमा खसेको थियो। दुर्घटनामा खोटाङका हरि पुर्कुटी , सन्तोषकुमार मुग्राती  र अप्सरा राई  बेपत्ता छन्।

दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो। मृत्यु हुनेमा युपना राई , दिव्या राई र स्वस्तिका विश्वकर्मा  छन्। युपना र दिव्या काठमाडौँमा अध्ययनसँगै सामान्य रोजगारी गर्थिन् भने स्वस्तिका एसईईको तयारीमा थिइन्।

दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन्। घाइतेमध्ये चालक आशिष विश्वकर्मा बेहोस छन् भने सम्झना राईको अवस्था गम्भीर छ। सम्झनालाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ। अन्य दुई घाइतेको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

शनिबार राति करिब ११ बजे काठमाडौँबाट छुटेको सुमोमा चालकसहित १० जना सवार थिए। चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

प्रतिक्रिया