बाढीले खोस्यो दसैँ: न छरियो जमरा, न रंगियो घर

पालिका डायरी
३ कार्तिक २०८३, १३:१८

हेटौंडा–५ सानेपोखराका ८१ वर्षीय देवप्रसाद श्रेष्ठले यसपालि घरमा जमरा राखेनन्। हरेक वर्षझैँ यसवर्ष पनि दसैँ आयो। रोजगारीका लागि घरबाहिर रहेका छिमेकीहरू घर फर्किए। गाउँघरमा दसैँको चहलपहल बढ्यो। तर, देवप्रसादको मनले खोजिरहेको मान्छे न घर फर्कियो, न उसको कुनै खबर आयो।

घरको जेठो छोरा सम्पर्कविहीन भएको झण्डै दुई महिना पुग्न लाग्यो। गत भदौ १० गते बिहान करिब ८ बजे फोनमा छोराको आवाज सुनेका देवप्रसादले त्यसयता न छोरासँग कुरा गर्न पाएका छन्, न उसको अवस्थाबारे कुनै जानकारी नै पाएका छन्।

‘बिहान ८ बजेदेखि उसको ड्यूटी थियो। ड्यूटी जान पर्‍यो भन्दै फोन राखेको थियो,’ देवप्रसादले भने, ‘पछि बाढी आएको थाहा पायौँ। त्यसयता न फोन लाग्छ। न केही खबर नै आयो।’

दसैँमा घरका सदस्यहरू भेला हुने, टीका लगाउने र आशीर्वाद दिने बेला हो। तर, यसपालि देवप्रसादको घरमा न जमरा छरियो, न दसैँको उल्लास नै छायो। उमेरले ८१ वर्ष पुगेका उनका लागि यो दसैँ अरू वर्षभन्दा फरक मात्रै रहेन, छोराको खबर पर्खँदापर्खँदै बितिरहेको पीडादायी समय बनिरहेको छ।

भोटेकोसी नदीमा आएको बाढीले उनका छोरालाई बेपत्ता बनाएपछि परिवारको खुसी पनि बगाएर लगेजस्तै भएको छ। पर्व आए पनि मनमा उत्साह छैन। अरूका घरमा दसैँको रौनक देख्दा देवप्रसादको मनमा भने छोराको सम्झना र ऊ फर्किएर आउला भन्ने आशा मात्रै बाँकी छ।

‘के खुसीमा जमरा छर्नु? हाम्रो खुसी नै खोसिएको छ,’ भक्कानिदै उनले भने, ‘निरज (छोरा) हराएदेखि हाम्रो सबै खुसी लुटियो। उसकी ७३ वर्षकी रोगी आमा (विजयालक्ष्मी) छोरा खोजेर छट्पटाइरहेकी छिन्। सकुशल फर्किएला भन्न त सकिँदैन। तर अन्तिम पटक अनुहार समेत हेर्न पाएनौँ।’

त्रिशूली हाइड्रोपावरमा कार्यरत इन्जिनियर निरज श्रेष्ठ भोटेकोसी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका हुन्। बिहान ८ बजे घरमा कुरा गरेर ड्यूटी गएका उनी बाढीमा परेर बेपत्ता भए। कल डिटेल हेर्दा उनले बिहान ९ः१५ देखि ९ः२१ सम्म हाइड्रोपावरमै काम गर्ने साथीसँग बाढी आएको सम्बन्धी कुरा गरेको पाइएको उनका बावु देवप्रसाद बताउँछन्। त्यसयता उनी सम्पर्कविहीन भएका हुन्।

‘निरजकी श्रीमती नितिमा छटपटाइरहेकी छिन्। नाती बाबा हराएको पीडामा छ’, उनले थपे, ‘श्रीमती बिरामी छिन्। म बुढो भएको बाउ सबैलाई सम्हाल्दै आफैं सम्हालिरहेको छु। यस्तो बेला चाडपर्वको केही महत्व नहुने रैछ।’

हेटौंडाका श्रेष्ठ हाइड्रो पावर क्षेत्रका अनुभवी प्राविधिक हुन्। २५ वर्षदेखि उनी जलविद्युत् आयोजना निर्माण र सञ्चालनको काम गर्दै आएका थिए। श्रेष्ठले यसअघि कालीगण्डकी, तामाकोसी, चिलिमे हाइड्रो पावरमा काम गरेका थिए। पछिल्लो समय त्रिशूली जलविद्युत् आयोजना ३ ‘बी’ मा विगत दुईवर्षदेखि काम गरिरहेका थिए। सोही भवनबाट सम्पर्कविहीन भएका १२ जना इन्जिनियरहरूमध्ये निरज दोस्रो दर्जाको प्राविधिक इन्जिनियरको रुपमा कार्यरत रहेको उनका बावु देवप्रसाद बताउँछन्।

यता, मकवानपुरकै थाहा नगरपालिका–१ ओखरबजारका करुण लामिछानेको घरमा पनि यसपालि दसैँ आएन। उनले न जमरा छरे, न घर रंग्याए। परिवारमा दसैँको कुनै सुरसार छैन। छ त केवल छोरा भुवन लामिछानेको पर्खाइ। डीएनए परीक्षणको रिपोर्टबाट छोराको शव पहिचान हुने आश। अनि अन्तिम पटक भए पनि छोराको अनुहार हेर्न पाउने झिनो आशा।

अरूका घरमा दसैँको रौनक छाउँदा करुणको परिवार भने छोराको पर्खाइमा छ। छोराको अवस्थाबारे कुनै टुङ्गो नलाग्दा परिवार न उनको सम्झनाबाट बाहिर निस्कन सकेको छ, न मनलाई सम्हालेर चाडपर्व मनाउन नै। आशा र अनिश्चितताको दोसाँधमा बितिरहेको उनीहरूको समयसँगै यसपालिको दसैँ निरस बनेको छ।

‘जमरा राखेनौँ। परिवारको एउटा खम्बा ढलेको बेला कसरी जमरा छर्नु? सबै सुनसान लागेको छ,’ करणले भने, ‘छोरा सम्पर्कविहीन भएदेखि कहिले रसुवा पुग्यौँ, कहिले नुवाकोट, काठमाडौँ पुग्यौँ। न सास फेला पर्‍यो। न त लाश नै भेटियो। शव चिन्‍नका लागि भनेर डीएनए पठाएका छौँ। अबको आश त्यहीबाट शव चिनिएला भन्ने मात्र हो। चाडबाडको त कुरै भएन। मन रमाए पो पर्व?’

आफ्ना २८ वर्षका छोरा भुवन बाढीपछि बेपत्ता भएदेखि लामिछाने परिवारको आँखा ओभाएको छैन। चालक पेशा गरेर परिवार धानिरहेका भुवन बाढीमा विलिन भएपछि परिवारको दर्बिलो खाँबो ढलेको छ।

‘एउटा मात्रै छोरा थियो। उसले पनि सानै उमेरमा छोडेर गयो, करणले भक्कानिदै भने, ‘अब यो दसैँ मात्र होइन। हाम्रो लागि सबै चाड यस्तै शून्य हुन्छ। छोरा विनाको पर्व के पर्व?’

भुवनले भदौ ९ गते राति घरमा कुरा गर्दै गाडी लोड हुने पालो कुरिहरको बताएका थिए। भोलिपल्ट फोन आएको थिएन। रसुवामा एक्कासी बाढी आएको फोटो भिडिओहरू भाइरल बन्न थालेपछि भुवनकी श्रीमती लक्ष्मीले तुरुन्तै फोन लगाइन्। तर सम्पर्क भएन। त्यसयता भुवन सम्पर्कविहीन छन्।

छोराहरूको अवस्था थाहा नभएकै कारण देवप्रसाद र करुणको परिवारले काजकिरिया समेत सुरु गरेका छैनन्। न बेपत्ता छोराहरू सकुशल फर्किने आशा त्याग्न सकेका छन्, न उनीहरू नरहेको स्वीकार गर्न नै।

निरज र भुवनका परिवार त प्रतिनिधि पात्र मात्रै हुन्। भोटेकोसी बाढीमा बेपत्ता आफन्तको पर्खाइमा रहेका अन्य परिवारको पीडा पनि उस्तै छ। घरमा जमरा छरिएको छैन, मनमा दसैँको उमङ्ग छैन। आफन्तको अत्तोपत्तो नहुँदा उनीहरूका लागि यसपालिको दसैँ प्रतीक्षा, पीडा र अनिश्चिततामै बितेको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार भोटेकोसी बाढीपछि मकवानपुरका मात्रै ५८ जना सम्पर्कविहीन भएका छन्।  प्रशासनको तथ्यांकअनुसार हेटौंडा उपमहानगरपालिकाका २१ जना, थाहा नगरपालिकाका २०, मनहरी गाउँपालिकाका ४, मकवानपुरगढी गाउँपालिकाका ३, भीमफेदी गाउँपालिकाका २, बकैया गाउँपालिकाका ३, इन्द्रसरोवर गाउँपालिकाका २, कैलाश गाउँपालिकाका २ र राक्सिराङ गाउँपालिकाका १ जना सम्पर्कविहीन छन्।

हेटौंडा उपमहानगरपालिकामा ३ जनाको मृत्यु भएको पुष्टि भएको छ।

प्रतिक्रिया