बाढीमा बेपत्ता रामेश्वरको परिवारलाई सहपाठीले जुटाए १ लाख ७५ हजार रुपैयाँ

पालिका डायरी
२ कार्तिक २०८३, २०:५९

रसुवाको भोटेकोसीमा आएको बाढीमा परी बेपत्ता भएका मकवानपुरको थाहा नगरपालिका–४ का रामेश्वर लामाको परिवारलाई उनका सहपाठीहरूले आर्थिक सहयोग गरेका छन्।

थाहामै रहेको जनकल्याण माध्यमिक विद्यालयबाट २०५९ सालमा एसएलसी परीक्षामा सहभागी भएका साथीहरूले स्वतःस्फूर्त रूपमा रकम संकलन गरी १ लाख ७५ हजार ८ सय ५० रुपैयाँ सहयोग गरेका हुन्।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका रामेश्वरको परिवारलाई उनका सहपाठीहरूले असोज ३१ गते घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन्। थाहा नगरपालिका–४ का वडाध्यक्ष नारायण लामाको उपस्थितिमा रामेश्वरकी श्रीमती सुनिता लामालाई उक्त रकम प्रदान गरिएको थियो।

पेशाले सवारी चालक रहेका रामेश्वर बाढीमा बेपत्ता भएको एक महिनासम्म पनि उनको शव फेला पर्न सकेन। त्यसपछि परिवारले असोज २८ गते उनको काजक्रिया सम्पन्न गरिसकेको छ।

सहपाठीको परिवारमा परेको दुःखमा साथ दिन र पीडामा मलम लगाउने उद्देश्यले सहयोग रकम संकलन गरिएको विजयविक्रम श्रेष्ठले बताए। रामेश्वरको निधनले शोकमा परेको परिवारलाई केही राहत पुग्नुका साथै उनका छोरा लोपसाङ लामाको शिक्षालाई निरन्तरता दिन सहयोग पुगोस् भन्ने भावनाले रकम जुटाइएको उनले बताए।

आफूसँगै पढेको साथीको परिवारमा परेको दुःखमा सहपाठीहरूले देखाएको आत्मीयता र सद्भावले परिवारलाई आर्थिक सहयोगसँगै भावनात्मक हौसला पनि मिल्ने सुरज भुजेलले विश्वास व्यक्त गरे। सहयोग रकम संकलनमा साथ दिने सबै सहपाठीप्रति उनले आभार व्यक्त गरे।

सहयोग रकम हस्तान्तरणका क्रममा सहपाठीहरूले दिवंगत रामेश्वर लामाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका थिए।

जनकल्याण माध्यमिक विद्यालयबाट २०५९ सालमा एसएलसी परीक्षामा सहभागी भएका सहपाठीहरूले यसअघि पनि आफ्ना साथीहरू समस्यामा पर्दा आर्थिक सहयोग जुटाउँदै आएका छन्।

प्रतिक्रिया