कांग्रेस केन्द्रीय सदस्यमा भिड्दै बागमतीका दुई जिल्ला सभापति

पालिका डायरी
२१ आश्विन २०८३, १७:५९

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बागमती प्रदेशका दुई जिल्ला सभापति केन्द्रीय सदस्यको प्रतिस्पर्धामा उत्रिएका छन्।

मकवानपुरका जिल्ला सभापति बुद्ध लामा र काभ्रेका जिल्ला सभापति तीर्थ लामाले जनजाति क्लष्टरतर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्। मकवानपुर कांग्रेसको नेतृत्व गरिरहेका बुद्ध जिल्ला सभापतिको जिम्मेवारी सम्हाल्दै अब पार्टीको केन्द्रीय राजनीतिमा प्रवेश गर्ने तयारीमा छन्। उनले जनजातितर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

जिल्लाको संगठनको नेतृत्व गर्दै आएका बुद्धले केन्द्रीय समितिमा प्रतिनिधित्वका लागि महाधिवेशनमार्फत आफ्नो दाबी प्रस्तुत गरेका छन्। गत प्रतिनिधि सभा निर्वाचनमा उनी मकवानपुर क्षेत्र नम्बर २ को उम्मेदवार समेत बनेका थिए।

यस्तै, काभ्रे कांग्रेसका जिल्ला सभापति तीर्थ लामाले पनि जनजाति क्लष्टरबाटै केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। जिल्ला सभापतिसँगै बागमती प्रदेश सभा सदस्यसमेत रहेका तीर्थले पनि जिल्ला नेतृत्वबाट कांग्रेसको केन्द्रीय राजनीतिमा फड्को मार्ने तयारी गरेका हुन्।

कांग्रेसको विशेष महाधिवेशनदेखि नै सभापति गगन थापा निकट रहेर काम गर्दै आएका उनले गगनकै सिंगनलमा उम्मेदवारी दर्ता गराएको उनी निकट नेताहरू बताउँछन्। छोटो समय उनले प्रदेशको खानेपानी, उर्जा तथा सिँचाई मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका थिए।

दुवै नेता आ–आफ्नो जिल्लाको कांग्रेस संगठनको नेतृत्व गरिरहेका बेला केन्द्रीय सदस्यका लागि एउटै क्लस्टरबाट चुनावी मैदानमा उत्रिएका हुन्। जिल्ला सभापतिको जिम्मेवारीबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका बुद्ध र तीर्थ दुवैका लागि यो उम्मेदवारी पार्टीभित्रको भूमिकालाई जिल्ला तहबाट केन्द्रीय तहमा विस्तार गर्ने प्रयासका रूपमा हेरिएको कांग्रेस नेताहरू बताउँछन्।

प्रतिक्रिया