भीमफेदीमा तीन सवारी ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

पालिका डायरी
२० आश्विन २०८३, २०:३६
हेटौँडा /  मकवानपुरको भीमफेदी गाउँपालिका–६ धानगोदामस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना सामान्य घाइते भएका छन्।

मंगलबार दिउँसो करिब ४ः१५ बजे हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा.१२ च ४१६४ नम्बरको ल्याण्ड क्रुजर गाडीले काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०२–०१८ प ०४५९ नम्बरको जाभा मोटरसाइकललाई ठक्कर दिएको थियो।

ल्याण्ड क्रुजरको ठक्करपछि सोही दिशाबाट आउँदै गरेको बा.५४ प २५६६ नम्बरको होण्डा मोटरसाइकल अनियन्त्रित भई सडकको बायाँतर्फ रहेको नालामा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा जाभा मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका–५ सिद्धार्थपथ निवासी करिब २५ वर्षीय महेश्वर घिमिरे खत्री गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा चिकित्सकले उपचारका क्रममा मृत घोषणा गरेका हुन्। उनको शव हेटौँडा अस्पतालमै रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, दुर्घटनामा होण्डा मोटरसाइकल चालक भारत घर भई हाल काठमाडौँ महानगरपालिका–२८ माइतीघरमा डेरा गरी बस्ने करिब ३२ वर्षीय मुन्ना आलम घाइते भएका छन्। उनको बाँया हात र बाँया खुट्टामा चोट लागेको छ। मोटरसाइकलको पछाडि सवार सोही स्थानका करिब ३१ वर्षीय चुन्नु आलमको पनि बाँया हात र बाँया खुट्टामा चोट लागेको छ। दुवै जनाको अवस्था सामान्य रहेको र हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा संलग्न दुवै मोटरसाइकल, ल्याण्ड क्रुजर गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया