श्रोत नखुलेको २१ लाख ४० हजार रुपैयाँसहित दुई जना पक्राउ
हेटौँडा / मकवानपुरको हेटौँडाबाट श्रोत नखुलेको २१ लाख ४० हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन्।
१९ गते सोमबार साँझ करिब ७ः३५ बजे हेटौँडा उपमहानगरपालिका–१, चौकीटोलस्थित हेटौँडा–भीमफेदी सडकखण्डमा सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण हेडक्वार्टर मकवानपुरबाट खटिएको मोबाइल टोलीले वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ च ०२०९ नम्बरको इसुजु डी–म्याक्स गाडीलाई रोकी जाँच गरेको थियो।
जाँचका क्रममा गाडीभित्र कालो प्लास्टिकको झोलामा लुकाइछिपाई राखिएको अवस्थामा रु. १ हजार र रु. ५ सय दरका नोट गरी जम्मा रु. २१ लाख ४० हजार नगद फेला परेको प्रहरीले जनाएको छ।
नगदसँगै प्रहरीले उक्त गाडीसमेत बरामद गरी गाडी चालक धादिङको नीलकण्ठ नगरपालिका–८ का करिब ३२ वर्षीय विजय खाती र गाडीमा सवार मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का करिब ४० वर्षीय सिंहराम रुम्बालाई नियन्त्रणमा लिएको हो।
बरामद नगद तथा गाडी र नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि दाखिला गरिएको प्रहरीले जनाएको छ।
उनीहरूविरुद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरसम्बन्धी मुद्दामा मकवानपुर जिल्ला अदालत, हेटौँडाबाट १५ दिनको म्याद थप अनुमति लिइएको छ। हाल दुवै जनामाथि रकमको स्रोत तथा घटनासँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


