महिला हिंसाविरुद्ध हेटौँडा–४ को अभियान : साइबर अपराधदेखि शारीरिक र मानसिक सुरक्षासम्म

राम कुमार दानी
१९ आश्विन २०८३, ०६:०३

हेटौँडा / महिला हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्ने तथा महिलालाई साइबर अपराध, शारीरिक र मानसिक हिंसाबाट सुरक्षित रहन सक्षम बनाउने उद्देश्यले हेटौँडा उपमहानगरपालिका–४ नं. वडा कार्यालयद्वारा आयोजित विशेष सचेतना तथा सशक्तीकरण कार्यक्रम सम्पन्न भएको छ।

‘केही नयाँ, फरक र सकारात्मक पहल’ भन्ने सन्देशसहित २०८३ असोज १७ र १८ गते हेटौँडास्थित रोयल पार्टी प्यालेसमा सञ्चालन गरिएको कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा महिला हिंसा न्यूनीकरण, कानुनी सचेतना, साइबर अपराधबाट बच्ने उपाय तथा शारीरिक र मानसिक सुरक्षाका विषयमा सहभागीहरूलाई जानकारी प्रदान गरिएको वडा अध्यक्ष नवीन सिग्देलले जानकारी दिए।

पछिल्लो समय प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराधका घटना तथा महिलामाथि हुने विभिन्न प्रकारका हिंसाका चुनौती बढिरहेका बेला यस्ता कार्यक्रमले नागरिकमा सचेतना अभिवृद्धि गर्नुका साथै हिंसाविरुद्ध आवाज उठाउन र आफ्नो अधिकारबारे जानकार हुन प्रेरित गर्ने अपेक्षा गरिएको अध्यक्ष सिग्देलले बताए।

कार्यक्रममा अन्तर्राष्ट्रिय जीवनकला तथा उत्प्रेरणा प्रशिक्षक सिमोन न्यौपानेले जीवनकला, आत्मविश्वास, सकारात्मक सोच तथा मानसिक सशक्तीकरणका विषयमा सहजीकरण गरेका थिए। त्यसैगरी, अधिवक्ता तथा कानुनी परामर्शदाता शान्तिकुमारी सिंहले कानुनी अधिकार, महिला हिंसासम्बन्धी कानुनी व्यवस्था तथा आवश्यक कानुनी परामर्शका विषयमा प्रशिक्षण दिएकी थिइन्।

कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्था तथा नगर समन्वय समितिका पदाधिकारीहरू र विभिन्न क्षेत्रका सहभागीहरूको उपस्थिति रहेको थियो। महिला हिंसा न्यूनीकरणका लागि कानुनी जानकारीसँगै व्यावहारिक सचेतना र आत्मविश्वास अभिवृद्धि आवश्यक हुने भएकाले यस्ता कार्यक्रमलाई समुदायस्तरसम्म विस्तार गर्नुपर्ने सन्देशसमेत कार्यक्रमले दिएको छ।

हेटौँडा–४ का वडा अध्यक्ष नवीन सिग्देलले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रशिक्षक, कानुनी परामर्शदाता, टोल विकास संस्था, नगर समन्वय समितिका पदाधिकारी, जनप्रतिनिधि, कर्मचारी तथा सहभागीहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनले कार्यक्रमको गरिमा बढाउने प्रमुख अतिथि तथा अतिथिहरूप्रति पनि कृतज्ञता प्रकट गरेका छन्।

वडा अध्यक्ष सिग्देलले महिला हिंसाविरुद्धको अभियानलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी समाजमा सचेतना, सुरक्षा र सशक्तीकरणको वातावरण निर्माण गर्ने उद्देश्यले नयाँ र फरक पहलका रूपमा अघि बढाइएको बताए।

प्रतिक्रिया