कर्रा खोलामा ४६ मिटर तटबन्ध निर्माणको काम सुरु

पालिका डायरी
१६ आश्विन २०८३, २१:४१

हेटौंडा उपमहानगरपालिका–१० स्थित कर्रा खोलामा तटबन्ध निर्माणको काम सुरु गरिएको छ। कर्रा पुलको पश्चिमतर्फ वडा नम्बर १० को क्षेत्रमा करिब ४६ मिटर लम्बाइ र ५ मिटर चौडाइको तटबन्ध निर्माणका लागि जग राख्ने काम शुक्रबारदेखि सुरु गरिएको हो।

तटबन्ध निर्माणको प्रारम्भ वडा नम्बर १० का अध्यक्ष फुर्बा दोर्जे लामा, कार्यपालिका सदस्य साधना श्रेष्ठलगायत वडा सदस्यहरूले गरेका हुन्। कर्रा खोलाको करिडोरअन्तर्गत बाढी तथा कटानको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले तटबन्ध निर्माण गर्न लागिएको हो।

तटबन्ध निर्माणका लागि हेटौंडा उपमहानगरपालिका–१० नम्बर वडा कार्यालयबाट १० लाख रुपैयाँ र नगर कार्यपालिकाको सिलिङ बजेटबाट १० लाख रुपैयाँ गरी कुल २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

तटबन्ध निर्माण सुरु कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व तथा स्थानीयवासीको उपस्थिति रहेको थियो। स्थानीयले कर्रा खोलाको कटान नियन्त्रण तथा बस्ती संरक्षणका लागि तटबन्ध निर्माणको काम सुरु भएकोमा खुसी व्यक्त गरेका छन्।

निर्माण कार्य सुरु भएको अवसरमा वडा अध्यक्ष लामा, कार्यपालिका सदस्य श्रेष्ठ, वडा सदस्यहरू तथा वडा कार्यालय परिवारप्रति स्थानीयले धन्यवाद व्यक्त गरेका छन्।

प्रतिक्रिया