हेटौँडा–४ ले नगरकै नमुना काम गरेको नगर प्रमुख लामाको भनाइ
हेटौँडा / हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले हेटौँडा–४ ले विकासका विभिन्न क्षेत्रमा नगरकै नमुना काम गर्दै आएको बताएकी छन्।
हेटौँडा–४ को आयोजनामा सञ्चालन भएको नगरस्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख लामाले भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा वडाले अघि बढाएका कार्यक्रम सकारात्मक रहेको बताएकी हुन् ।
उनले हेटौँडा–४ लाई ‘राजधानीको पनि राजधानी वडा’का रूपमा उल्लेख गर्दै वडाले विभिन्न क्षेत्रमा गरिरहेको कामको प्रशंसा समेत गरिन्। विकास निर्माण र जनहितका काममा नगरपालिकाको साथ र सहयोग निरन्तर रहने प्रतिबद्धता रहेकाे उनले भनाई छ ।
स्थानीय तहमा खेलकुदका गतिविधि विस्तार गर्न सके युवाको प्रतिभा पहिचान र विकासमा सहयोग पुग्ने नगर प्रमुख लामाको भनाइ थियो । खेलकुदले युवालाई स्वस्थ, अनुशासित र सक्रिय बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनले बताइन् ।
कार्यक्रम नगरस्तरीय क्रिकेट प्रतियोगिता व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्कीको सभाध्यक्षतामा भएको थियो। कार्यक्रममा हेटौँडा–४ का वडा अध्यक्ष नवीन सिग्देल विशेष अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रममा हेटौँडा–१० का वडा अध्यक्ष फुर्वा दोर्जे लामा, हेटौँडा–११ की वडा अध्यक्ष जुना दाहाल, मकवानपुरका युवा नेता तथा पूर्व खेलकुद विकास समितिका अध्यक्ष सानु लामा दोङ, वडा सदस्य, खेलप्रेमी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।


