१८ वर्षमै कांग्रेस महाधिवेशन प्रतिनिधि बनेकी अभिप्साले भनिन्, ‘यो पुस्तान्तरणको सुरुवात हो’
नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ बाट १८ वर्षीया अभिप्सा पौडेल महाधिवेशन प्रतिनिधि बनेकी छन्। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ की पौडेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि आफूलाई मतदान गर्ने क्षेत्रीय प्रतिनिधिसहित पार्टीका अग्रज, राजनीतिक गुरु, शुभेच्छुक, साथी तथा सम्पूर्ण कांग्रेसजनप्रति धन्यवाद व्यक्त गरेकी छन्।
पौडेलले आफ्नो परिवारका अग्रजहरूले नेपाली कांग्रेसको राजनीति र सिद्धान्तमा जीवन समर्पित गरेको उल्लेख गर्दै आफू पनि त्यही राजनीतिक संस्कारबाट हुर्किएको बताएकी छन्। १८ वर्षको उमेरमा महाधिवेशन प्रतिनिधि बन्नुलाई उनले आफ्नो व्यक्तिगत जितभन्दा पनि एक पुस्ताबाट अर्को पुस्तामा भएको राजनीतिक पुस्तान्तरणको सुरुवातका रूपमा व्याख्या गरेकी छन्।
महाधिवेशन प्रतिनिधि बनेको खुसीमा दिवंगत आमाको सम्झना आएको बताउँदै पौडेलले आमाले दिएको संस्कार, साहस र समाजप्रतिको जिम्मेवारीले आफ्नो राजनीतिक यात्रामा प्रेरणा दिइरहेको उल्लेख गरेकी छन्। साथै, हरेक पाइला, संघर्ष र निर्णयमा साथ दिने बाबाप्रति उनले विशेष कृतज्ञता व्यक्त गरेकी छन्।
उनले नेपाली कांग्रेस आफ्नो लागि केवल राजनीतिक दल नभई विचार, सिद्धान्त, इतिहास र पुस्तौँको संघर्षसँग जोडिएको घर भएको बताएकी छन्। बीपी कोइरालाले देखाएको राष्ट्रियता, लोकतन्त्र, समाजवाद र सामाजिक न्यायको बाटोलाई आत्मसात् गर्दै युवाको ऊर्जा र महिलाको नेतृत्वलाई बलियो बनाउने प्रतिबद्धता उनले व्यक्त गरेकी छन्।
मकवानपुरको विकास, समृद्धि र हितका लागि काम गर्ने बताउँदै पौडेलले महाधिवेशन प्रतिनिधिको जिम्मेवारीलाई पदका रूपमा नभई जिम्मेवारीका रूपमा लिएर अघि बढ्ने उल्लेख गरेकी छन्। उनले अबको आफ्नो यात्रा नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनतर्फ अघि बढेको बताएकी छन्।


