देउवा पक्षले निर्वाचन आयोगलाई बुझायो महाधिवेशनको कार्यतालिका
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगमा बुझाएको छ।
कांग्रेस सभापतिकै नाममा देउवाको हस्ताक्षर रहेको पत्र मंगलबार निर्वाचन आयोगमा बुझाइएको हो। १५औं महाधिवेशन तयारी समितिको सचिवालय प्रमुख दिपक कुइकेलका अनुसार असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरी मंसिर २१-२३ मा केन्द्रीय महाधिवेशन गर्ने विवरण निर्वाचन आयोगमा पेश गरिएको छ।
आयोगलाई बुझाइएको पत्रमा महाधिवेशनको तिथिमिति सहितका विवरण खुलाइएको कुइकेलले जानकारी दिए।
असोज १५ गते वडा अधिवेशन, असोज २० गते गाउँ तथा नगरपालिका अधिवेशन, असोज २३ गते प्रदेश सभा तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने देउवा पक्षको कार्यतालिका छ। यस्तै मंसिर २१ देखि २३ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने लागेको छ।
कांग्रेसको संस्थापनले भने यही असोज १८ गतेदेखि १५औँ महाधिवेशन गर्दै छ। कांग्रेस आधिकारिकताको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा कांग्रेसका दुवै पक्षले महाधिवेशनको प्रक्रिया अगाडि बढाएका छन्।


