हेटौंडामा डेंगी सचेतनामूलक रील प्रतियोगिता, प्रथमलाई ४ हजार
हेटौंडा / हेटौंडा उपमहानगरपालिकाले डेंगी रोगको रोकथाम तथा नियन्त्रणबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सचेतनामूलक रील प्रतियोगिता आयोजना गरेको छ । ‘डेंगीविरुद्ध सचेत समुदाय : डेंगी रोकथाम अभियान’ अन्तर्गत जनस्वास्थ्य शाखाले आयोजना गरेको प्रतियोगितामा हेटौंडामा बसोबास गर्ने स्थायी तथा अस्थायी नागरिकले सहभागिता जनाउन सक्ने उपमहानगरपालिकाले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन डेंगीको रोकथाम, नियन्त्रण, लक्षण तथा बच्ने उपायबारे अधिकतम तीन मिनेटको सचेतनामूलक रील तयार गरी आफ्नो फेसबुक खातामा सार्वजनिक रूपमा राख्नुपर्नेछ। रील राख्दा हेटौंडा उपमहानगरपालिकाको आधिकारिक फेसबुक पेज ‘हेल्लो हेटौडा उपमहानगरपालिका’लाई ट्याग गरी फलो गर्नुपर्नेछ। साथै, आयोजकले उपलब्ध गराएको गुगल फाराम अनिवार्य रूपमा भर्नुपर्नेछ। रीलको भाषा र सन्देश स्पष्ट, शुद्ध तथा बुझ्न सहज हुनुपर्नेछ। भिडियो तथा अडियोको गुणस्तरलाई समेत मूल्याङ्कनमा ध्यान दिइनेछ।
प्रतियोगितामा रीलमा प्राप्त लाइक, कमेन्ट र सेयर तथा निर्णायक मण्डलको मूल्याङ्कनका आधारमा विजेता छनोट गरिनेछ। एक लाइक बराबर एक अंक, एक कमेन्ट बराबर दुई अंक र एक सेयर बराबर दुई अंक प्रदान गरिनेछ। निर्णायक मण्डलले विषयवस्तुका लागि पाँच र प्रस्तुतिका लागि पाँच गरी १० अंक प्रदान गर्नेछ। रीलबाट प्राप्त अंक र निर्णायक मण्डलको अंक जोडेर प्राप्त कुल अंकका आधारमा बढीबाट कम अंकसम्मको क्रम निर्धारण गरी विजेता छनोट गरिने उपमहानगरपालिकाले जनाएको छ।
प्रतियोगितामा प्रथम हुनेले चार हजार रुपैयाँ, द्वितीय हुनेले दुई हजार रुपैयाँ र तृतीय हुनेले एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा सहभागी हुन २०८३ असोज २० गतेसम्म रील तयार गरी फेसबुकमा सार्वजनिक रूपमा राख्नुपर्नेछ।


