बागलुङ पहिरोमा ज्यान गुमाउनेको संख्या १२ पुग्यो, १ जना अझै बेपत्ता
file photo
बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।
पछिल्लो तीन दिनयता बागलुङका विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ । पहिरोले घर बगाउँदा एक जना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको मृत्यु भएको प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईँले जानकारी दिए । पहिरोमा परी पुनका श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका छन् ।
जिल्लामा अविरल वर्षापछिको विपद्मा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको प्रहरीले जनाएको छ । गत शनिबार ताराखोलामै एक जनाको मृत्यु भएको थियो भने आइतबार बागलुङको तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु, एक बेपत्ता भएका थिए ।
त्यसैगरी पहिरोमा परेर निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।


