हेटौँडामा महिला हिंसा र साइबर अपराधविरुद्ध प्रशिक्षण हुने
हेटौँडामा महिला हिंसाविरुद्ध प्रशिक्षण कार्यक्रम हुने भएको छ। समाजमा बढ्दो महिला हिंसा र साइबर अपराध न्यूनीकरण गर्न तथा शारीरिक र मानसिक सुरक्षाका लागि उत्प्रेरणा कार्यक्रम आयोजना गर्न लागिएको हेटौँडा–४ का वडा अध्यक्ष नवीन सिग्देलले बताउनुभयो।
कार्यक्रममा विभिन्न संघसंस्था, क्याम्पस तथा विद्यालयका शिक्षक, टोल विकास संस्थाका पदाधिकारी, अभिभावक, विद्यार्थी, युवा तथा महिलालाई लक्षित गरी सहभागी गराइने वडा अध्यक्ष सिग्देलले जानकारी दिनुभयो।
साइबर अपराध, शारीरिक तथा मानसिक सुरक्षाबारे अन्तर्राष्ट्रिय प्रशिक्षक सिमोन न्यौपानेले जीवनकला तथा उत्प्रेरणासम्बन्धी प्रशिक्षण दिनुहुनेछ। त्यस्तै, महिला हिंसा, अधिकार र कानुनी व्यवस्थाबारे अधिवक्ता शान्तिकुमारी सिंहले प्रशिक्षण दिनुहुनेछ।
हेटौँडा–४ नम्बर वडा कार्यालयको आयोजनामा हुने प्रशिक्षण कार्यक्रमको व्यवस्थापन टोल विकास नगर समन्वय समितिले गर्ने समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले बताउनुभयो।
कार्यक्रममा सहभागी हुन चाहनेहरूका लागि पासको व्यवस्था गरिएको र सहभागी संख्या सीमित रहेको अधिकारीले जानकारी दिनुभयो। समाजमा हिंसा, साइबर अपराध तथा विसङ्गति बढ्दै गइरहेकाले तिनको न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको उहाँले बताउनुभयो।
प्रशिक्षण कार्यक्रम यही असोज १७ र १८ गते रोयल पार्टी प्यालेसमा हुने आयोजकले जनाएको छ।


