त्रिभुवन राजपथमा सवारी सञ्चालनको लागि यसरी निर्धारण गरियो समय

पालिका डायरी
९ आश्विन २०८३, १४:२३

बाढीपहिरोको कारण पृथ्वी, बीपी र कान्ति राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथमा सवारी चाप बढेको छ ।

सवारी चाप बढेपछि मकवानपुर प्रशासनले काठमाडाैँ प्रवेश गर्ने र बाहिने सवारी साधनका लागि समय तालिका निर्धारण गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार हेटौँडाबाट काठमाडौँ जाने सवारी अब हेटौँडा–१ चौकीटोलबाट शुक्रबार (आज) दिउँसो २ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ ।

शनिबार (भोलि) बिहान ४ बजेदेखि ८ बजेसम्म र राति १० बजेदेखि आइतबार बिहान २ बजेसम्म पनि यो सडक भएर काठमाडौँ जान सकिनेछ ।

त्यस्तै, काठमाडौंँबाट हेटौँडा आउने सवारी सिमभञ्ज्याङ चौकीबाट शुक्रबार (आज) साँझ ७ बजेदेखि राति ११ बजेसम्म, शनिबार (भोलि) दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म र असोज ११ गते बिहान ७ बजेदेखि ११ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ ।

प्रशासनले अर्को व्यवस्था नभएसम्म इन्धन र एलपी ग्यास बोकेका बाहेक १० चक्केभन्दा ठूला तथा १५ टनभन्दा बढी भार भएका मालवाहक सवारीलाई त्रिभुवन राजपथमा सञ्चालन गर्न पूर्ण रूपमा रोक लगाएको छ ।

यात्रुबाहक सवारीका हकमा भने ११ मिटर लम्बाइसम्मका सवारीलाई मात्र त्रिभुवन राजपथ प्रयोग गर्न अनुमति दिइएको छ ।

प्रतिक्रिया