वर्षा निरन्तर भइरहँदा कुलेखानी जलाशयमा कति पुग्यो पानीको सतह ?
फोटोः सुवास थापा मगर
लगातार वर्षा भइरहे पनि मकवानपुरस्थित कुलेखानी जलाशयको जलसतह हालसम्म नियन्त्रणमै छ ।
बिहीबारदेखि निरन्तर परेको वर्षाका कारण पानीको सतह केही बढे पनि मकवानपुरको इन्द्रसरोवर गाउँपालिका १ र २ मा पर्ने कुलेखानी जलाशयमा जोखिम नभएको आयोजना प्रशासनले जनाएको छ ।
कुलेखानी प्रथम जलविद्युत् केन्द्रका कार्यालय प्रमुख प्रल्हाद राउतकाअनुसार शुक्रबार बिहान १०:३० बजेसम्म जलाशयमा पानीको सतह १५ सय २२.३६ मिटर पुगेको छ।
कुलेखानी जलाशयको अधिकतम भण्डारण क्षमता १५ सय ३० मिटर हो । कुलेखानी जलसतह भरिन अझै ७.५ मिटर बाँकी रहेको राउतले बताए । यद्यपि १५ सय २७ मिटर जल सतह पुगेपछि बाँधको ढोका खोलिने उनले जानकारी दिए ।
वर्षाका कारण जलाशयमा पानीको बहाव बढे पनि विद्युत् उत्पादन गर्ने मेशिनहरू पूर्ण क्षमता (फुल स्पिड) मा निरन्तर सञ्चालन गरिएकाले जलसतह तीव्र गतिमा बढ्न नपाएको राउतले बताए । ‘जलसतहलाई सन्तुलनमा राख्न निरन्तर विद्युत् उत्पादन भइरहेकाले हालसम्म बाँधको ढोका खोल्नुपर्ने अवस्था आएको छैन । स्थिति पूर्ण रूपमा नियन्त्रणमै छ,’ उनले भने ।
यसअघि २०८१ साल असोज दोस्रो साता भारी वर्षा हुँदा कुलेखानी जलाशय भरिएर ओभरफ्लो भएको थियो । त्यसबेला बाँधको ढोका खोल्नुपर्ने स्थिति आउँदा इन्द्रसरोवरमा विभिन्न भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो ।
विगतको सोही विनाशकारी जोखिमलाई ध्यानमा राख्दै यसपटक उच्च सावधानी र आवश्यक पूर्वतयारी थालिएको स्थानीय प्रशासनले जनाएको छ । ३ सय मिटर चौडाइ र ७ किलोमिटर लम्बाइमा फैलिएको कुलेखानी जलाशय पूर्ण रूपमा भरिँदा करिब ८५ लाख घनमिटर पानी जम्मा हुन्छ ।
मकवानपुरको उत्तरी क्षेत्रमा रहेका थाहा नगरपालिकाका दामन, पालुङ, वज्रबाराही र चित्लाङका साथै इन्द्रसरोवर गाउँपालिकाका मार्खु र फाखेल यस जलाशयका प्रमुख जलाधार क्षेत्र हुन् ।
विगत दुई दिन अघिको तुलनामा जलसतहमा सामान्य वृद्धि मात्र भएको र अहिलेकै दरमा पानी परिरहेमा अवस्था जोखिमपूर्ण नरहने आयोजनाको भनाइ छ । तल्लो क्षेत्रका बासिन्दालाई नआत्तिन तर वर्षा जारी रहेकाले सजग रहन आग्रह गरिएको छ ।


