विज्ञान शिक्षालाई व्यवहारिक बनाउँदै हेटौँडा–१५, दुई विद्यालयलाई विज्ञानसम्बन्धी शैक्षिक सामग्री
हेटौँडा / हेटौँडा उपमहानगरपालिका–१५ वडा कार्यालयले विद्यार्थीको विज्ञान शिक्षालाई थप व्यवहारिक, सिर्जनशील र प्रभावकारी बनाउने उद्देश्यले दुई विद्यालयलाई विज्ञानसम्बन्धी शैक्षिक सामग्री वितरण गरेको छ।
वडा अध्यक्ष सुनिल मोक्तानको पहलमा चुरियामाई माध्यमिक विद्यालय र जनजागृति माध्यमिक विद्यालयलाई विज्ञान शिक्षाका लागि आवश्यक विभिन्न शैक्षिक सामग्री वितरण गरिएको हो।
विद्यार्थीमा किताबी ज्ञानसँगै प्रयोगात्मक सिकाइ, खोज, अनुसन्धान तथा नयाँ सोचको विकास गराउने उद्देश्यले विज्ञानसम्बन्धी सामग्री उपलब्ध गराइएको वडा अध्यक्ष मोक्तानले बताए।
वडा अध्यक्ष मोक्तानले शिक्षामा गरिएको लगानी नै भविष्यमा सक्षम र समृद्ध समाज निर्माणको आधार भएको बताउँदै विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय तहबाट आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिइने बताए।
उनले विज्ञान शिक्षालाई केवल पाठ्यपुस्तकमा सीमित नराखी प्रयोग र व्यवहारसँग जोड्न सके विद्यार्थीमा सिर्जनशीलता तथा अनुसन्धान गर्ने क्षमताको विकास हुने धारणा व्यक्त गरे।
वडा कार्यालयले बालबालिकाको ज्ञान, सीप र सिर्जनशीलता विकासलाई प्राथमिकतामा राख्दै विद्यालयको आवश्यकता र मागअनुसार शैक्षिक क्षेत्रमा सहयोग गर्दै जाने जनाएको छ।


